काठमाडौं,१५ असार । गृहमन्त्री सुधन गुरुङले सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई थप प्रभावकारी बनाउन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन्। सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा उनले अभियानमा कुनै पनि व्यक्तिलाई विशेष छुट नदिन आग्रह गर्दै आफूले प्रयोग गर्ने गाडीको कालो सिसा पनि हटाउन निर्देशन दिएका हुन्।
ट्राफिक प्रहरीका अधिकारीहरूसँग छलफल गर्दै गृहमन्त्रीले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने उल्लेख गर्दै, “मेरो गाडीमा भएको कालो सिसा पनि हटाउनुस्,” भने।
यसअघि मन्त्री तथा विशिष्ट व्यक्तिहरूले प्रयोग गर्ने सवारीसाधनमा कालो सिसा राख्ने चलन देखिँदै आएको भए पनि गृहमन्त्री गुरुङले आफ्नै गाडीबाट अभियान सुरु गर्न निर्देशन दिएका छन्। ट्राफिक प्रहरीका अनुसार उनको निर्देशनअनुसार मन्त्रीले प्रयोग गर्दै आएको गाडीको कालो सिसा पनि हटाइनेछ।
यता, असार १४ गतेदेखि काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले निजी तथा सार्वजनिक सवारीमा जडान गरिएका कालो सिसाका स्टिकर हटाउने अभियान सञ्चालन गरिरहेको छ। पहिलो चरणमा स्टिकर हटाउने कार्यलाई प्राथमिकता दिइएको छ।
त्यसैगरी, कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीसाधनको विषयमा समाधान खोज्न ट्राफिक प्रहरीले सवारी बिक्रेता कम्पनीहरूसँग छलफल गरिरहेको जनाएको छ। प्रहरीका अनुसार कम्पनीबाटै कालो सिसा जडान भएका गाडीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा आवश्यक समन्वय भइरहेको छ।




