बीरगन्ज,२९ जेठ । बीरगन्जमा रहेको लामो समयदेखि जीर्ण अवस्थामा पुगेको नारायणी रंगशाला को मर्मत, पुनर्निर्माण तथा स्तरोन्नतिका लागि सरकारले कुल १५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तका अनुसार आगामी आर्थिक वर्षको बजेटमार्फत खेलकुद मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय तथा सम्बन्धित निकायबाट विभिन्न शीर्षकमा रकम छुट्याइएको हो। यसअनुसार खेलकुद मन्त्रालयमार्फत ७ करोड ५० लाख रुपैयाँ रंगशालाको थप स्तरोन्नतिका लागि विनियोजन गरिएको छ भने निर्माणाधीन नारायणी बहुउद्देश्यीय कभर्ड हलका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ। त्यस्तै, फ्लड लाइट जडानसहितका पूर्वाधार सुधारका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले थप ३ करोड रुपैयाँ विनियोजन गरेको छ।
यसअघि पनि चालु आर्थिक वर्षमा रंगशाला र कभर्ड हलका लागि करिब ४ करोड रुपैयाँ विनियोजन गरिएको थियो। दशकौँदेखि स्तरोन्नति र मर्मतको प्रतीक्षामा रहेको यो रंगशाला देशकै दोस्रो ठूलो रंगशालाका रूपमा चिनिन्छ, तर लामो समयको बेवास्ताका कारण यसको संरचना जीर्ण बनेको छ।
२०४२ सालमा निर्माण भएको यो रंगशालामा पहिले राष्ट्रिय स्तरका प्रतियोगितासमेत आयोजना हुने गरेका थिए। तर समयसँगै उचित मर्मत सम्भार नहुँदा प्यारापिट भत्किएको, मैदान बिग्रिएको र केही संरचना समेत हराएको अवस्था पुगेको छ।




