काठमाडाै,२९ जेठ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्टसँग सम्बन्धित मुद्दा दायर गरेपछि वित्तीय तथा बीमा क्षेत्रमा ठूलो असर परेको छ। विशेष अदालतमा दायर मुद्दासँगै विभिन्न बीमा तथा पुनर्बीमा कम्पनीका ७ जना प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलम्बनमा परेका छन्।
मुद्दासँग जोडिएर निलम्बनमा पर्नेहरूमा दुई पुनर्बीमा कम्पनी र पाँच लघु बीमा कम्पनीका सीईओ रहेका छन्। निलम्बित हुनेमा नेपाल रिइन्स्योरेन्स कम्पनी का सीईओ सुरेन्द्र थापा र हिमालयन रिइन्स्योरेन्स कम्पनी की सीईओ उपासना पौडेल पनि समावेश छन्।
त्यसैगरी लघु बीमा कम्पनीतर्फ लिबर्टी माइक्रो लाइफका सीईओ रामकुमार यादव, क्रेष्ट माइक्रोका सीईओ प्रतापमान श्रेष्ठ, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नरेश कुमार रोका, गार्डियन माइक्रो लाइफका चिरायू भण्डारी र नेपाल माइक्रो इन्स्योरेन्सका मृगेन्द्रनाथ रिमाल निलम्बनमा परेका छन्।
मुद्दामा संलग्न भनिएका दीपक भट्ट विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको हो। सोही कानुनी प्रक्रियाका कारण उनीहरूमाथि पनि प्रत्यक्ष प्रभाव परेको छ। यसबाहेक नेपाल बीमा प्राधिकरण का पूर्वअध्यक्ष तथा सहसचिव मदन दाहाल समेत निलम्बनमा परेका छन् भने अर्का पूर्वअध्यक्ष शरद ओझामाथि पनि मुद्दा दायर गरिएको छ।
कानुनी व्यवस्था अनुसार सार्वजनिक पदमा रहेका व्यक्तिमाथि फौजदारी मुद्दा दायर भएमा मुद्दा टुंगो नलागेसम्म स्वतः निलम्बनमा रहने व्यवस्था भएकाले उनीहरू तत्काल पदमा फर्किन नपाउने भएका छन्।




