काठमाडौँ,२९ जेठ । काठमाडौँमा प्रतिनिधि सभा बैठकमा बोल्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले विकासका नाममा वैदेशिक ऋण बढाउने प्रवृत्ति रोक्न सरकारलाई आग्रह गरेका छन्। विनियोजन विधेयक २०८३ माथिको छलफलमा सहभागी हुँदै उनले अनुत्पादक योजना बढाउने अभ्यासले देश ऋणको भारीमा डुबिरहेको बताएका हुन्।
अध्यक्ष राईले विकासको नाममा हरेक वर्ष विदेशी ऋण बढ्दै गएको भन्दै त्यसको सट्टा योजनाको संख्या घटाएर प्रभावकारी र आवश्यक परियोजनामा मात्र बजेट केन्द्रित गर्नुपर्ने सुझाव दिए। उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ सरकारको नीति केन्द्रित हुनुपर्नेमा जोड दिए।
उनका अनुसार शिक्षा प्रणालीमै श्रम र उत्पादनको महत्व समेट्न नसकेसम्म देशले उत्पादनमा प्रगति गर्न नसक्नेछ। विद्यालय तहदेखि नै बालबालिकालाई श्रमसँग जोड्न सके मात्र उत्पादनमुखी समाज निर्माण सम्भव हुने उनको भनाइ थियो।
संसद्मा उनले आफ्नो पार्टीको “श्रम संस्कृति” अवधारणालाई समेत प्रस्तुत गर्दै परनिर्भर राहत प्रणालीभन्दा आत्मनिर्भर उत्पादनमुखी नागरिक तयार गर्नुपर्ने बताए। भोका र नाङ्गा नागरिकलाई राहतमा सीमित नराखी उत्पादनमा सक्षम बनाउनु राज्यको दायित्व भएको उनले उल्लेख गरे।
सरकारको सफलता वा असफलता मापन वैदेशिक ऋणको घटबढका आधारमा हुनुपर्ने भन्दै उनले आगामी बजेटमा ऋण नलिने दिशामा अघि बढ्न अर्थमन्त्रीलाई आग्रह गरे। उनले देशलाई परनिर्भरताबाट मुक्त गरी आफ्नै स्रोत र क्षमतामा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।




