काठमाडौं,१६ असार । परीक्षा प्रणालीमा सुधार र ‘ब्याच ड्रप’ व्यवस्था खारेज गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) अन्तर्गत एमबिबीएस तथा बिडिएस अध्ययनरत विद्यार्थीहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले हालको परीक्षा प्रणाली विद्यार्थीमैत्री र न्यायपूर्ण नभएको भन्दै त्यसमा तत्काल सुधार गर्नुपर्ने माग राखे। उनीहरूले पुरानो परीक्षा प्रणाली परिवर्तन गरी वस्तुगत (Objective) र विषयगत (Subjective) दुवै प्रकारका प्रश्न समावेश गरिनुपर्ने, ‘ब्याच ड्रप’ व्यवस्था पूर्ण रूपमा हटाइनुपर्ने तथा परीक्षा प्रक्रियालाई पारदर्शी, व्यवस्थित र निष्पक्ष बनाइनुपर्ने बताएका छन्।
विद्यार्थीहरूले गुणस्तरीय शिक्षा र अध्ययनको अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायले आफ्ना मागप्रति गम्भीर हुँदै शीघ्र आवश्यक निर्णय लिनुपर्ने आग्रह गरेका छन्।




