spot_img

राष्ट्रिय झण्डाको संरक्षणमा ध्यान दिन पर्साका स्थानीय तहलाई प्रशासनको निर्देशन

spot_img
spot_img

वीरगन्ज,१६ असार । पर्सा जिल्लाका चोक, पुल, पार्क तथा अन्य सार्वजनिक स्थलमा राखिएका राष्ट्रिय झण्डाको नियमित मर्मत, संरक्षण र आवश्यक पर्दा फेरबदल गर्न जिल्ला प्रशासन कार्यालय पर्साले स्थानीय तहलाई निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले मंगलबार जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गर्दै सार्वजनिक स्थानमा राखिएका राष्ट्रिय झण्डाको मर्यादा कायम राख्न आवश्यक कदम चाल्न निर्देशन दिएका हुन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार पर्साका विभिन्न चोक, पुल, उद्यान तथा सार्वजनिक स्थलमा स्थानीय तहले राखेका केही राष्ट्रिय झण्डा च्यातिएको, रङ उडेको तथा फोहोर अवस्थामा रहेको भन्दै जनस्तरबाट गुनासो आएपछि प्रशासनको गम्भीर ध्यानाकर्षण भएको हो।

प्रशासनले नेपालको राष्ट्रिय झण्डा राष्ट्रको गौरव, स्वाभिमान र राष्ट्रिय पहिचानको प्रतीक भएकाले यसको सम्मान र मर्यादा जोगाउनु सबै नागरिक र निकायको साझा दायित्व भएको उल्लेख गरेको छ।

‘राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ अनुसार सार्वजनिक स्थानमा प्रयोग गरिने झण्डा सफा, सग्लो र मापदण्डअनुसार हुनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै प्रशासनले तत्काल निरीक्षण गरी आवश्यक सुधार गर्न स्थानीय तहलाई निर्देशन दिएको छ।

निर्देशनमा च्यातिएका, रङ उडेका वा फोहोर भएका झण्डा तत्काल हटाएर नयाँ तथा मापदण्डअनुसारका झण्डा राख्न, सार्वजनिक स्थानमा रहेका झण्डाको नियमित अनुगमन गर्ने प्रणाली विकास गर्न, पुराना तथा प्रयोगयोग्य नरहेका झण्डालाई कार्यविधिअनुसार सम्मानपूर्वक विसर्जन गर्न तथा झण्डा राखिएका स्थानको सरसफाइ र सुरक्षाको जिम्मेवारी सम्बन्धित स्थानीय तहले सुनिश्चित गर्न भनिएको छ।

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय झण्डाको सम्मान कायम राख्न सबै स्थानीय तहलाई निर्देशनको प्रभावकारी कार्यान्वयन गर्नसमेत आग्रह गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय