बीरगन्ज,३० जेठ । सर्लाहीमा जग्गा विवादका कारण भएको कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ। गोडैता नगरपालिका–९ निवासी ७० वर्षीय अहमिद मन्सुरमाथि भएको आक्रमणपछि उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जेठ २२ गते छिमेकीबीच जग्गा सम्बन्धी विवाद चर्किँदा घटना भएको हो। सो क्रममा श्रीचन महतोका छोरा सुशील महतो, रमजान मन्सुर लगायतले मन्सुरमाथि निर्घात कुटपिट गरेका थिए।
गम्भीर घाइते भएका मन्सुरलाई मलंगवास्थित म्याक्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। तर उपचारकै क्रममा शनिबार बिहान करिब ७ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
घटनामा संलग्नमध्ये रमजान मन्सुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। अन्य आरोपित श्रीचन महतो र सुशील महतो फरार रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।




