काठमाडौं,०१ असार । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई ले पार्टीभित्र पुनर्गठनको प्रक्रिया अघि बढ्ने तर त्यसले कुनै प्रकारको विभाजन निम्त्याउने अवस्था नरहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले एमाले अझ सुदृढ र एकताबद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्। उनले पार्टीभित्रको पुनर्गठनलाई स्वाभाविक प्रक्रिया भन्दै यसबाट संगठन थप मजबुत बन्ने उल्लेख गरेका छन्।
भट्टराईले पार्टीका नेता–कार्यकर्ताबीच आपसी समझदारी र सहकार्य बढ्ने, सबैको सम्मान सुनिश्चित हुने तथा संगठनात्मक गतिशीलता अझ प्रभावकारी बन्ने दाबी गरेका छन्। उनले पुनर्गठनपछि एमालेभित्र नयाँ उत्साह र सकारात्मक परिवर्तन देखिने विश्वास समेत व्यक्त गरेका छन्।
उनको भनाइले पछिल्लो समय पार्टीभित्र देखिएका विभिन्न अड्कलबाजी र विभाजनसम्बन्धी चर्चालाई खण्डन गर्दै एमाले एकतामै रहने सन्देश दिएको छ। भट्टराईका अनुसार पुनर्गठनको उद्देश्य पार्टीलाई अझ बलियो, व्यवस्थित र प्रभावकारी बनाउनु हो, न कि विभाजनतर्फ लैजानु।




