spot_img

सानीगाड हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न

spot_img
spot_img

काठमाडौं,०१ असार । सानीगाड हाइड्रो कम्पनी को प्राथमिक शेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल ले एक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा अपेक्षाभन्दा धेरै आवेदन परेपछि गोलाप्रथामार्फत शेयर वितरण गरिएको छ। जेठ १८ देखि २१ गतेसम्म खुला गरिएको आईपीओमा २७ लाख ५९ हजार ४९० वटा आवेदन स्वीकृत भएका थिए।

बाँडफाँटअनुसार ४ लाख ६७ हजार ४ सय जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। आईपीओको नतिजा सीडीएससीको वेबसाइट मार्फत हेर्न सकिनेछ।

कम्पनीले सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता शेयर निष्कासन गरेको थियो। उक्त पूँजी बझाङमा निर्माण हुने ३८.४ मेगावाट क्षमताको सानीगाड हाइड्रोपावर (माथिल्लो कालंगाड) आयोजना मा लगानी गरिनेछ।

आयोजनाको कुल लागत करिब ८ अर्ब ६८ करोड रुपैयाँ रहने अनुमान गरिएको छ भने प्रतिमेगावाट लागत २२.५८ करोड रुपैयाँ रहने प्रक्षेपण गरिएको छ।

वित्तीय पक्षमा कम्पनीले इक्रा नेपाल बाट ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको छ। गत पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६५ पैसा रहेको देखिन्छ। कम्पनीले सो अवधिसम्म २६ करोड ३७ लाख रुपैयाँ सञ्चित नाफा आर्जन गरेको जनाएको छ।

अत्यधिक आवेदनका कारण अधिकांश आवेदकले शेयर नपाए पनि कम्पनीको आईपीओप्रति लगानीकर्ताको उच्च आकर्षण देखिएको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय