काठमाडौँ,०१ असार । ‘सेफ सन्तोष साह’ लाई प्रहरीले थप अनुसन्धानका लागि ३ दिनको म्याद लिएर हिरासतमा राखेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार ठगीसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन जिल्ला अदालतबाट थप ३ दिनको म्याद लिइएको हो। प्रहरीका एसपी पवन भट्टराईका अनुसार साहविरुद्ध परेको जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई उनका दाजु ५८ वर्षीय नारायण साह सुडीसँगै शनिबार जनकपुरको रामानन्द चोकबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो।
सन्तोष साहमाथि ४ लाख ५० हजार रुपैयाँको ठगी आरोप रहेको बताइएको छ। यसअघि उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा पनि कारबाही भएको थियो, जसमा २५ लाख रुपैयाँको चेक बाउन्स प्रकरण जोडिएको छ र अदालतले एक महिना कैद सजाय हुने फैसला सुनाइसकेको छ।
साहले सञ्चालन गर्दै आएको ‘मिथिला थाली’ रेस्टुरेन्टसँग सम्बन्धित कारोबारमा पनि विवाद देखिएको छ। नक्सालस्थित गैरीधारामा रहेको रेस्टुरेन्ट खरिदबिक्रीका क्रममा दिइएको चेक नसाटिएपछि समस्या उत्पन्न भएको बताइन्छ।
बीबीसी मास्टरसेफ द प्रोफेसनल्स २०२० का सेकेन्ड रनरअप बनेपछि अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाएका साहले लन्डनबाट फर्किएर नेपालमा विभिन्न स्थानमा ‘मिथिला थाली’ ब्रान्डका रेस्टुरेन्टहरू सञ्चालन गर्दै आएका थिए।




