जनकपुर,०१ असार । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि करिब ४१ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन्।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को तुलनामा यसपटक बजेट घटाएर ल्याएको छ। यस वर्षको बजेट अघिल्लो वर्षको ४६ अर्ब ५८ करोड रुपैयाँभन्दा करिब १३ प्रतिशत कम हो।
बजेट विनियोजनअनुसार चालु खर्चतर्फ १४ अर्ब ६६ करोड रुपैयाँ (करिब ३५.९४ प्रतिशत) र पुँजीगत खर्चतर्फ २६ अर्ब ४७ करोड रुपैयाँ (करिब ६४.३६ प्रतिशत) छुट्याइएको छ।
आर्थिक स्रोततर्फ प्रदेश सरकारले आन्तरिक राजस्वबाट ११ अर्ब २२ करोड ७५ लाख, राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड, वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख तथा गत वर्षको नगद मौज्दातबाट ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ जुटाइने अनुमान गरेको छ।
अर्थमन्त्री भट्टराईका अनुसार बजेटमा पूर्वाधार, विकास र सेवा विस्तारलाई प्राथमिकतामा राखिएको छ।




