काठमाडौं,०१ असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सरकारका मन्त्रीहरूको अभिव्यक्तिमा संयमता अपनाउन प्रधानमन्त्री बालेन्द्र शाह लाई आग्रह गरेका छन्।
सोमबार भिडियो सन्देशमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै शर्माले केही मन्त्रीका विवादास्पद अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। विशेषगरी पूर्वाधार मन्त्री सुनिल लम्साल ले निर्माण व्यवसायीलाई लक्षित गर्दै दिएको भनिएको ‘खुट्टा भाँचिदिनू’ जस्ता अभिव्यक्तिप्रति उनले गम्भीर आपत्ति जनाए।
शर्माले यस्तो अभिव्यक्तिले राज्य संयन्त्रको मर्यादामाथि प्रश्न उठ्ने भन्दै प्रधानमन्त्रीलाई मन्त्रीहरूको बोली र व्यवहार नियन्त्रण गर्न आग्रह गरेका छन्।
उनले विभिन्न जिल्लामा देखिएका घटनाहरू—कैलालीमा एक श्रमिक महिलामाथि भएको व्यवहार र सिरहामा परीक्षा हलमा भेटिएका मोबाइल फोन नष्ट गरिएको प्रसंग—उल्लेख गर्दै सरकारको कार्यशैलीप्रति पनि प्रश्न उठाए।
शर्माले समाजमा हिंसात्मक र कठोर अभिव्यक्ति बढ्दै गएको भन्दै नेतृत्व तहबाटै जिम्मेवार र संयमित व्यवहार आवश्यक रहेको बताए।




