काठमाडौं,०१ असार । शंकर पोखरेल ले नेपाली समाजमा ‘पपुलिजम’ (लोकप्रियतावाद) र ‘एनार्किजम’ (अराजकतावाद) को प्रभाव बढ्दै गएको भन्दै यसले समाजलाई भ्रमित बनाइरहेको दाबी गरेका छन्।
नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका नवनियुक्त प्रमुख निरज आचार्यको पद हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यी दुवै प्रवृत्तिले समाजलाई तत्कालीन मुद्दामा मात्र अल्झाएर दीर्घकालीन विकासलाई अवरुद्ध गर्ने टिप्पणी गरे।
उनका अनुसार पपुलिजम र एनार्किजमले समाजलाई यथास्थितिमै राख्ने प्रयास गर्छन्, तर बाहिरबाट भने समाधान दिने जस्तो ‘भ्रम’ सिर्जना गर्छन्। उनले भने, “यी प्रवृत्तिले सबै समस्याको समाधान आफैँमा छ भन्ने कृत्रिम छाप बनाउँछन्।”
पोखरेलले पछिल्लो समय ‘पुराना दल असफल छन्, नयाँलाई अवसर दिनुपर्छ’ भन्ने भाष्य निर्माण भइरहेको उल्लेख गर्दै यस्तो प्रवृत्तिको दीर्घ आयु नहुने दाबी गरे।
उनले वैकल्पिक राजनीतिक शक्ति प्रविधिको आधारमा मात्रै टिक्न नसक्ने भन्दै स्पष्ट वैचारिक आधार आवश्यक रहेको बताए। समाजलाई दीर्घकालीन रूपमा अघि बढाउन ठोस विचारधारामा आधारित राजनीति नै मुख्य मार्ग भएको उनको भनाइ थियो।




