काठमाडाै,०६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई संस्थागत र वैधानिक संरचनातर्फ अघि बढाउने मुख्य माध्यम महाधिवेशन भएको बताएका छन्।
चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा शनिबार सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले महाधिवेशन पार्टी जीवनकै ऐतिहासिक र महत्वपूर्ण प्रक्रिया भएको बताए।
‘एउटा पार्टीलाई वैधानिकतामा लैजाने सबैभन्दा महत्वपूर्ण बाटो महाधिवेशन हो,’ लामिछानेले भने, ‘यो प्रक्रिया यसअघि नै गर्नुपर्ने थियो, प्रयास पनि भएको हो, तर विभिन्न परिस्थितिका कारण सम्भव हुन सकेन।’
उनका अनुसार हालको अनुकूल परिस्थितिलाई उपयोग गर्दै पार्टीलाई महाधिवेशनमार्फत औपचारिक संरचनामा लैजाने निर्णय गरिएको हो।
पार्टी स्थापनाको चार वर्षे यात्रामा नागरिकको निरन्तर परीक्षण र खबरदारीले संगठनलाई परिपक्व बनाउँदै लगेको उनले दाबी गरे। ‘हामी निरन्तर जनताको सार्वजनिक परीक्षणमा छौं। नागरिकको खबरदारी नै हाम्रो मार्गदर्शन हो,’ उनले भने।
लामिछानेले आफूहरू निरन्तर सिक्दै र अनुभव लिँदै पार्टी निर्माणको प्रक्रियामा अघि बढिरहेको उल्लेख गरे।




