बीरगन्ज,०७ असार । “सद्भावका लागि योग” भन्ने नारासहित वीरगन्जमा १२औँ अन्तर्राष्ट्रिय योग दिवस विविध कार्यक्रमका साथ मनाइएको छ।
भारतीय महावाणिज्य दूतावास, वीरगन्जको आयोजनामा शंकराचार्य गेटमा योग शिविर सम्पन्न भएको हो। भारत–नेपालबीचको सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धको प्रतीक मानिने उक्त स्थलमा भएको कार्यक्रममा योग अभ्यास र जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव रहेका थिए। विशिष्ट अतिथिहरूमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेल र वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, स्थानीय उद्योग–व्यवसायी, नेपाल–भारत मैत्री संघ, पतञ्जलि योग समिति (पर्सा–बारा), सुरक्षा निकायका अधिकारी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा योगाचार्य र योग विद्यार्थीहरूले विभिन्न योग आसन प्रदर्शन गर्दै योगको शारीरिक र मानसिक लाभबारे जानकारी गराएका थिए।
महावाणिज्यदूत डी.एस. मीनाले योगलाई भारतले विश्वलाई दिएको महत्वपूर्ण उपहार भन्दै यसको विश्वव्यापी उपयोगितामा जोड दिए। उनले योगले शारीरिक स्वास्थ्य, मानसिक शान्ति र सामाजिक सद्भाव बढाउने बताए।
मुख्यमन्त्री यादवले यस्तो कार्यक्रमले जनचेतना अभिवृद्धि गर्नुका साथै नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउन सहयोग पुर्याउने धारणा व्यक्त गरे।
रातभरको वर्षा भए पनि बिहानैदेखि ठूलो संख्यामा योगप्रेमीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले योगलाई दिगो जीवनशैली र सीमापार सद्भावको माध्यमका रूपमा व्याख्या गरेका थिए।




