सिरहा,०७ असार । सवारी दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा एक रिक्सा चालकको मृत्यु भएपछि सिरहामा आक्रोशित स्थानीयवासीले शवसहित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
धनगढीमाई नगरपालिका–१० निवासी ४५ वर्षीय कृष्णकुमार महतो को उपचारका क्रममा शनिबार मृत्यु भएपछि उनका आफन्त र स्थानीयवासीले आइतबार धनगढीमाई बजार क्षेत्रमा शव बोकेको एम्बुलेन्स सडकमा राखेर प्रदर्शन गरेका हुन्।
स्थानीयका अनुसार महतो सिटी रिक्सा चलाएर परिवारको जीविकोपार्जन गर्दै आएका थिए। शुक्रबार साँझ उनले रिक्सा रोकेर दही किन्न सडक पार गर्ने क्रममा तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई प्रारम्भिक उपचारपछि नोबेल अस्पताल पठाइएको थियो, जहाँ उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक घटनालगत्तै फरार भएको र हालसम्म पक्राउ नपरेको भन्दै स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा न्याय सुनिश्चित गर्न माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहा का निमित्त प्रवक्ता प्रहरी निरीक्षक नरेश लिम्बु ले अवरुद्ध राजमार्ग खुलाउन प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्। उनका अनुसार पीडित पक्षसँग वार्ता जारी रहेको छ भने फरार चालकको खोजी कार्यलाई पनि तीव्र बनाइएको छ।
राजमार्ग अवरुद्ध भएपछि पूर्वपश्चिम राजमार्गको दुवैतर्फ लामो सवारी जाम लागेको छ। घटनास्थलमा प्रहरी र स्थानीयबीच छलफल जारी रहेको तथा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच स्थानीयवासीले बजार क्षेत्रमा सवारी दुर्घटना तथा आपराधिक गतिविधि नियन्त्रणका लागि सीसीटीभी क्यामेरा जडान गर्नसमेत सम्बन्धित निकायसँग माग गरेका छन्।




