बारा, १४ बैशाख। बारा जिल्लामा सुरक्षाकर्मीको प्रत्यक्ष संलग्नतामै गिटीको तस्करी हुने गरेको खुलासा भएको छ । जिल्लाको मुसहर्वा र बलिरामपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संलग्नतामा खुलेआम गिटी तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।
बलिरामपुर गाउँका पूर्व अध्यक्ष किशोरी साह तुराहाका छोरा अशोक साह तुराहाले प्रहरीसँग सेटिङ मिलाएर तस्करी गर्ने गरेको स्रोतको दावी छ । दैनिक २५ देखी ३० ट्रयाक्टर गिटी विना रोकटोक भारत पठाउने गरेको बताइएको छ ।
तस्करीलाई लाइन खुलाएबापत नेपाल प्रहरी र सशस्त्र प्रहरीले मोटो नजराना बुझ्ने गरेका छन् । माथिल्लो निकायको सेटिङमै सशस्त्र प्रहरीको स्थानिय बि.ओ.पी र प्रहरी चौकीले प्रति ट्रयाक्टरको हिसाबले रकम बुझने गरेको बताइएको छ ।
सशस्त्र प्रहरी बि.ओ.पी बरैनियाका सशस्त्र प्रहरी निरीक्षक राजेश फुयालले तस्करलाई संरक्षण दिन थालेपछि गिटी लोड गर्नको लागि जेसिभि नै प्रयोग गर्ने गरेको स्थानियहरु बताउछन् । एक तस्करका अनुसार स्थानिय सशस्त्र प्रहरीले प्रति ट्रयाक्टर रु. १००० र नेपाल प्रहरीलाई रु. ८०० लिने गरेको छ । तस्कर तुराहाले सार्वजाकि रुपमै नेपाल प्रहरी र सशस्त्र प्रहरी आफ्नो खल्तिमा रहेको बताउने गरेको स्थानीय बताउँछन् ।
यस बिषयमा सशस्त्र प्रहरी बल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापा संग सम्पर्क गर्दा उनको फोन उठेन । पहिला कपडाको तस्करी गर्ने गरेका तुराहा अहिल्य गिटीको तस्करीमा सक्रिय भएको बताइएको छ ।
स्थानीयका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी ‘एनि हाउ पैसा कमाउ’ भन्ने ध्याउन्नमा लाग्दा व्यापाक रुपमा तस्करी हुने गरेको छ ।