“मिलेना वेड्स श्याम”

spot_img
“हेल्लो, आभाष जी !”
“मेरो रिक्वेस्ट एक्सेप्ट गर्नुस् न, प्लीज !”
“हेल्लो, आभाष जी !”
“म तपाइको असाध्यै ठूलो फ्यान हुँ !”
“रिप्लाई प्लिज ! ”

जनकपुरको कार्यक्रम सकिएकै राती मेरो मैसेन्जरको अनरिड मैसेजमा मा केही यस्तै खालका मैसेजले दस्तक दिए ।

मैसेजमा “फ्यान” शब्द देखेर यसै त मन गदगद थियो नै झन उनको प्रोफाईल देखेपछि मनमा खुशी र उत्साहको तरङ एकै साथ तरङित भएको थियो  ।

गाजलमा लत्पतिएका ठुल्ठुला आँखा, खुल्ला छोडिएका काला घना कपाल,  कपाल माथि चस्मा, सेत‍ो रंगमा काल‍‍ो धर्को वाला टिसर्ट अनि पिंक लिप्सटिकमा मन्ध मुस्कान सहितको सेल्फीबाला प्रोभाईल पिक्चर ।

फ्यान हुँ भन्दै मेसेज आको छ, एक छिनमा रिप्लाई गरौला भन्दै उनको आईडी खोतल्न थाले । उनको फेसबुके भित्तामा केटाहरूले ट्याग गरेका केही फोटा तथा सायरि नै सायरी थिए । उनको पोस्ट बिर्लै देखे । तर, उनले पोस्ट गरेका तस्बिर असाध्यै कडा ।

केही समय उनको प्रोफाईल हेरेर बिताएपछि लाग्यो अब त रिप्लाई गर्नैपर्छ ।

नभन्दै “हजुर ” लेखेर पठाईदिए ।
केही सेकेन्डमै रिप्लाइ आयो ” धन्यवाद” ।
“के का लागि ? ” मैले सोधे ।
“मेरो रिक्वेस्ट एक्सेप्ट गर्नका लागि” ।
अलि भाउ खाँदै मुस्कान सहितको ईमोजी पठाईदिए ।

“अस्तिको प्रोग्राममा मेरा नजर तपाईं माथि नै थिए । अझ भन्दा त्यो कार्यक्रम अवधी भरि म तपाईलाई नै हेर्दै थिए । ” उनले भनिन् ।

“हो र ? धन्यवाद । ”
“तपाई असाध्यै राम्रो बोल्नुहुन्छ । त्यो कालो कोटमा साह्रै हैण्डसम देखिदै हुनुनथ्यो ।”

“तपाईं पनि राम्री हुनुहुन्छ । ” मैले पनि भन्दिहाले ।

उताबाट रातो पानको पात (दिल) को ईमोजी सहित केही वाक्य आए ।

“अस्ति प्रोग्राममा, म तपाईको ठेयाक्कै अगाडि बसिरा’थे । तपाईले एकचोटी पनि म तर्फ हेर्नुभएन ”
दुखिवाला ईमोजि सहितको दुखेस‍ो ।

संगीतकार यश कुमारले एउटा गीतमा भनेका छन “बिरानो यो मन्दीरमा, कुनै दियो बल्दैन । ”

तर, त्यो रात भने बिरानो मेरा यो मनको मन्दिरमा दिय‍‍ो मात्र हैन आगो नै बल्न आटेको थियो ।

त्यसपछि सुरू भएको कुराकानि राति अबेरसम्म रोकिएन । थरी थरी, नानाथरीका गफ भए ।

त्यसपछि उनले सोधिन् “तिम्रो उमेर कती?”
कुराकानीका क्रममा “तपाईं” देखि “तिमी” कहिले भयो, मलाई पत्तो भएन ।

“तिम्रो उमेर कती ?” मैले सोधे ।
“२१, तिम्रो?”

फटाफट रिप्लाई फर्काई रहेका मेरा हात टक्क अडीए ।
उनी म भन्दा ठ्याक्कै २ वर्ष जेठी । आफ्नो सहि उमेर बताए भने कतै हुनै लागेक‍ो माया लोप पो हुने हो कि भन्ने डर ।

“मेरो पनि २१” देखाजाला भन्दै ठेल्दिए रिप्लाई ।

यदि पछि गएर केही कडा नै भयो भने मायाले उमेर देख्दैन भन्ने सान्त्वना सहित कुराकानि जारी रह्यो ।

समय रातिको ११.०० बज्यो । कुराकानी प्रारम्भ भएको ४ घण्टा भएको थियो ।

ठ्याक्कै ११.१० मा आएको उनको एक मेसेजले मेरो पैताला मुनि धर्ती खस्कायो । टन्टलापुर घाममा कसैले छाता ओढाए जस्तो । कुनै एक  राज्यको राजाले राजागद्दीमा प्रथम पटक आरोहण गरे जस्तो ।

चिनजानको चार घण्टामै “आई लव यु” ठोक्दि हालिन् मायाले । १८ वर्षको वनबास पछि गृहप्रवेश गरे जस्तो महशुस हुँदै थियो । उमेर १८ वर्ष भईसक्दा पनि एउटी पट्याउन सक्या थिईन, त्यही भएर १८ वर्षको वनबास ।

जिन्दगी मै पहिलोपटक कसैले आई लव यु, भन्या थियो । खुसीक‍ो सिमाना मेटिएको थियो ।

हल्का भाउ खाउ भन्दै, रिप्लाई गर्न केही समय लगाए ।

“यती चाँडै माया बस्यो ?” मैले सोधे ।
“अह्, माया त माया हो । बसिहाल्यो ।” उनले भनिन् ।

जिन्दगी मै पहिलोपल्ट कसैले प्रोपोज गर्या थियो । हल्का डर्र त थियो नै ।

विषय परिवर्तन गर्न खोज्दै सोधे “आज कार्यक्रममा पुजाको नृत्य असाध्यै राम्रो थियो है ?”

“पहिला मेरो जबाफ देउ । पुजाको कुरा पछि गरौला । ” रिसवाला ईमोजी सहित उनको रिप्लाईले मोबाईल भाईब्रेट भयो ।

अब हुनै लागेकी मायालुका अगाडि अर्कि केटीका बारेमा कुरा गर्दा रिसवाला ईमोजी नभए दिलवाला आउनु ?

म बेकुफलाई के थाहा यो कुरा । पहिलोपटक जो यस खालको गफ गर्दै थिए ।

“आई लव यु टु” दिलवालाका ईमोजीका साथ मेरो मैसेज उनको मोबाईलमा पुग्यो । सायद, भाईब्रेट पनि भाकै होला ।

केही सेकेन्डमै,
“धन्यवाद” उनले भनिन् ।

कुराकानी गर्दा गर्दैं रातिको १ बजिसकेको थियो । कार्यक्रम पछिको थकाई मार्न केही बेरका लागि भएपनि सुत्नै पर्ने थियो । रातिको १.३० बजे अफलाईन हुँदै सुत्न गए ।
आँखा खुल्दा सोमबार भईसकेको थियो र समय बिहानको १० बजेको थियो । उठ्ने बित्तिकै फ्रेस भएर खाना खान रेस्टुरेन्ट पुगे । कार्यक्रमको पछिको पारिश्रमिक लिएर बस चढ्दै वीरगञ्ज आईपुगे । वीरगञ्ज आईपुग्दा साँझको ४ बजिसकेको थियो । गएराति १ बजे अफलाईन भाको म, अझै पनि अफलाईन नै थिए । साँझको ७ बजे अनलाईन भए । अनलाईन हुने बित्तिकै तारन्तार मैसेज । मैसेज माथि मैसेज । मैसेज सबै उनका ।
“कता बेपत्ता ? को सँग बिजी ? किन नबोलेको ? तिमीलाई मेरो माया नै छैन”…ईत्यादी मैसेजहरु ।
जनकपुरबाट आउँदा बसमा एउटा चलचित्र देखेको थिए । चलचित्रले असाध्यै प्रभावित पनि थिए । लव स्टोरी चलचित्र थियो, खासमा ।
उनको सब मैसेज पढिसकेपछि मैले रिप्लाई गरे ।
“अरे पग्ली ! जिन्दगीमै पहिलोपल्ट मायामा परेको मान्छे, कहाँ बेपत्ता हुन्छ ? को सँग बिजी हुन्छ ? को सँग बोल्छ ? तिम्रो माया नभए कस्को माया हुन्छ ? “
लगातार दुईचार मायाका शब्दहरु लेखेर पठाईदिए ।
यस्तै उनीसँग कुराकानी हुँदै गयो । फोन, मैसेन्जर, मोबाईल । जताततै उनकै मैसेज । घण्टौ कुराकानी हुन थाल्यो ।
सम्बन्धको रङ्ग गाढा भईसकेको थियो । तर, माया कडा जमेको थियो ।

महिनामा एकाध पटक भेटघाट पनि हुन्थ्यो । कहिले उनी आउथिन् त कहिले म जान्थे ।

 

आखिर कसले भन्छ मायालाई उमेरले छेकेको छ ?

उमेरमा उनी जेठि भएपनि हाम्र‍ो माया समान थियो । माया प्रवाहमा न कुनै उतार थियो न चढाव ।  सामाजिक सञ्जालबाट गाँसिएको उनको र मेरो माया यति गाढा र पक्का हुन्छ भन्ने महशुस थिएन ।

उनी मभन्दा ५०० किलोमिटर टाढा बस्थीन् । तर, माया यस्तो सधैँ नजिक भएजस्तो ।

मायालाई न उमेरले छेकेको छ, न दुरीले रोकेको छ । माया त दुई मुटुको अनन्त यात्रा हो ।

कुराकानीको हप्तौ पछि उनको मैसेजको संख्या पातलिन थाल्यो । पहिला एकैसाथ ४ वटा मैसेज आउथ्यो, अब आफैले पठाको मैसेजको रिप्लाईका लागि घण्टौ कुर्नपर्ने ।
कतै व्यस्त हुँदो होली भन्दै मैले मैसेजको रिप्लाई आउँछ भन्ने अपेक्षा कम गर्न थाले ।
बिस्तारै उनी अनलाइन आउन पनि छोडिन । पहिले घण्टौ अनलाईन हुने, अचेल अनलाईन आउनै छोडेकी थिईन ।
उनी अनलाईन नआको दोस्रो दिन । फोन गर्छु सोचे । फोन लगाए । स्विच अफ ।
हुँदाहुँदै उनको मोबाईल स्विच अफ र मैसेन्जरमा अनलाईन नआको एक महिनै बित्यो ।
जनकपुर जाऊ सोचे । ठेगाना थाहा थिएन ।
उनी अनलाईन नआको एक महिनापछि उनको फेसबुकको भित्तामा एक जनाले एउटा फोटो ट्याग गर्यो ।
फोटो उनको बिहेको रहेछ ।
फोटोमा उनी आफ्ना श्रीमानका साथमा थिईन ।
फोटोको एक कुनामा लेखिएको थियो………“मिलेना वेड्स श्याम”
#monsoon
spot_img

ताजा अपडेट

लोकप्रिय