बीरगन्ज, १९ चैत्र – विभिन्न ठाउँबाट आएका करिब ४ सय भारतीयलाई बीरगन्जमा एकै ठाउँमा क्वारेन्टाइनमा राखिएको छ । बीरगन्ज हुदैं लुकिछिपी भारत जान लागेका ती सबैलाई ठाकुरराम बहुमुखी क्याम्पसको शिक्षा शास्त्र भवनमा क्वारेन्टाइन गरिएको छ । आज (बुधबार) बिहान प्रहरीले ती सबै भारतीयलार्य त्यहाँ लगेर राखेको हो ।
नेपाल र भारत दुवै देशमा लकडाउन भएको बेला सिमा सिल गरिएको बेला दशगजामा थप तनाव हुने सक्ने भएकाले उनीहरुलाई बीरगन्ज राखिएको बताइएको छ । प्रायः सबै नेपालका विभिन्न शहरमा पुगेर मजदुरी गर्ने भारतको बिहारका मजदुर छन् ।
साना सवारी मार्फत र हिडेरै बीरगन्ज आइपुगेका उनीहरुलाई बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो । पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले यो कुराको पुष्टि गरेकी छिन् ।

