बीरगन्ज, १९ चैत्र – कोरोना भाइरसको त्राससँगै गत ५ चैतदेखि देशभरका सबै विद्यालय बन्द छन् । कोरोनाका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) लगायतका सबै परीक्षा रोकिएका छन् । विद्यालयदेखि विश्वविद्यालयसम्मका शैक्षिक संस्थाको पठनपाठन बन्द र परीक्षा रोकिएकोे केही दिनमै कोरोना भाइरस संक्रमित भेटिएपछि सरकारले पूरै देशमा दुईसाता लामो लकडाउन गरेको छ । चैत २५ गते सम्म गरिएको लकडाउन त्यस पश्चात खुल्ने हो कि होइन कुनै ग्यारेन्टी छैन र रोकिएको परीक्षा कहिले हुने हो, निश्चित नै छैन ।
लकडाउनले गर्दा एसइईका सम्पूर्ण परिक्षार्थी क्वारेन्टाइनमा छन् । कतिपयले लकडाउनलाई थप तयारी गर्ने मौकाको रुपमा लिएका छन् भने कतिपय परीक्षा कहिले हुने हो ठेगान नै नभएको बेला कहिलेसम्म तयारी गरिराख्ने भन्दै निराश भएका छन् । नेपाल पोष्ट डेलीले बीरगन्जका केही विद्यालयका एसइई परीक्षार्थीहरुलाई लकडाउनमा परीक्षाको तयारी कसरी गर्दै हुनुहुन्छ भनेर सोध्दा उनीहरुले यस्तो प्रतिक्रिया दिए :

सिमरन गुप्ता
श्री आदर्श माध्यमिक विद्यालय
अन्तिम तयारी गरेर मानसिक रुपमा परीक्षाको लागि तयार रहेको बेला एक दिन अगाडि मात्र परीक्षा स्थगित भएको खबर सुनें । यद्यपि, विश्वव्यापी महामारी कोरोनाको कारणले परीक्षा स्थगित भएको भए पनि चैत्र ६ गते अघि सम्म म परीक्षा दिन निकै नै उत्साहित थिए । सम्पूर्ण एसइई दिने विद्यार्थीहरु हामीलाई परीक्षा कहिले हुने हो भन्ने कुराले थप पिरोलिरहेको छ । यस्तो अवस्थामा यो समयमा परीक्षाको पुनः तयारी गर्ने वातावरण छ जस्तो मलाई लाग्दैन ।
एसइई २०७६ को परीक्षार्थीको रुपमा मैले भन्नैपर्छ कि मलाई अहिले परीक्षाको तयारी कहाँबाट, कसरी अनि कहिलेसम् म गर्ने भन्ने कुराले गाह्रो बनाईरहेको छ । परीक्षा स्थगित हुनु भन्दा अगाडि मैलै सबै विषयको अन्तिम तयारी गरेको थिए । तर एकाएक परीक्षा स्थगित भएको सुनेपछि मलाई मानसिक रुपमा परीक्षाका लागि फेरि तयारी गर्न अप्ठयारो भएको छ । अब परीक्षाको नयाँ तालिक कहिले आउने हो ? अब के हुने हो ? जस्ता अनेकौं प्रश्न मनमा उठिरहेका छन् । बारम्बार घरमा मात्र बसेर तयारी गर्न दिक्क लागेको छ ।
कोभिड १९ ले विभिन्न कुरा नकरात्मक असर पारेको छ । अहिले यो विश्वभरी नै फैलने क्रममा रहेको छ र अहिले केही भन्न सक्ने स्थिति पनि छैन । हाम्रो पढाईलाई पनि यसले असर पारेको छ । अहिले हामी सबैको मनमा एउटै प्रश्न छ “परीक्षाको नयाँ तालिका कहिले आउँछ ?”

सुमित किल्ला
श्री आदर्श माध्यमिक विद्यालय
म मानसिक र शारिरीक दुवै रुपमा परीक्षा दिन तयारी रहेको थिए । तर परीक्षा स्थगित भएको खबर समाचार मार्फत सुनेपछि म प्रकारले खुशी नै भए । खुशी यसकारणले कि परीक्षाको थप गर्न मलाई अझै समय मिल्यो ताकि परीक्षाका मैले उत्कृष्ट अंक प्राप्त गर्न सकौं । त्यसपश्चात, मैले परीक्षाको तयारी फेरि एकचोटि गरे । तर अहिले म तनावमा छु । कोरोनाको कारणले गर्दा अझ लामो लकडाउन पनि भएको छ । फैलिरहेको भाईरस उत्पन्न यो समस्या कहिले समाप्त होला ? भन्ने एउटै प्रश्न बारम्बार मेरो मनमा आइरहन्छ । यो समस्या समाप्त भएपछि कहिले परीक्षाको नयाँ तालिका आउँछ भन्ने प्रतिक्षामा म छु । लकडाउन बढेको बढ्यै गर्नुले पछिको हाम्रो पढाईमा पनि असर गर्न सक्छ । मलाई लाग्छ कि म जस्तै परीक्षा दिने अरु विद्यार्थीलाई पनि यस्तै प्रश्नले चिन्ता भइरहेको होला ।
सतिश गुप्ता
गौतम माध्यमिक विद्यालय
एसइई परीक्षा स्थगित भएको समाचार सुनेपछि मेरो मनमा आएको पहिलो कुरा भनेको सबै तयारी गरिसकेको बेला एक दिन मात्र अघि परीक्षा किन स्थगित गरेको होला । जसले गर्दा म मानसिक तनावमा परे । अहिले भने लकडाउनको बेला घरमै मात्र बसेर बारम्बार विषयको तयारी मात्र गर्दा दिक्क लागिरहेको छ । जति तयारी गरे पनि परीक्षा शुरु हुने बेलासम्म ती कुराहरु मैले सम्झन सकौंला कि नसकौंला भन्ने चिन्ता लागिरहेको छ ।
कोरोनको विश्वकै समस्या भएको बेला यसले हाम्रो एसइई परीक्षालाई पनि असर पारेको हो । हामीलाई अब के हुने हो केही थाहा छैन । खै, परीक्षाको नयाँ तालिका पनि कहिले आउने हो ?

रोजन चौधरी
मुनलाईट माध्यमिक विद्यालय
सबै तयारी सम्पन्न भईसक्दा अचानक एसईई स्थगित भयो । हाल खासै पढिएको छैन । तर, बेलाबेलामा पढ्ने गर्छु । चाडैं हुन्छ, परिक्षा । नबिर्सिउ भन्दै पढ्छु पनि । मिहिनेत अझै गर्ने समय मिल्यो ।

आदर्श शुभम
कञ्चनजंघा माध्यमिक विद्यालय
एसईईका लागि सब तयारी भईसकेको थियो । सबैले राम्रो अंक ल्याउनुपर्छ भन्दै हौसला दिएका थिए । निकै उत्साहित थिए । एसईईको एक दिन अघिसम्म आवश्यक सबै तयारी गरिसकेको थिए । अचानक परीक्षा स्थागित भएको खबर सुने । निराश भए । अहिले अझ बढि मिहिनेत गर्दैछु । राम्रो अंक ल्याउनुपर्छ ।

शुभम कुमार गुप्ता
साउथ जोन माध्यमिक विद्यालय
एसइई हाम्रो लागि एक महत्वपूर्ण परिक्षा हो । परीक्षा शुरु हुने अघिल्लो दिनको साँझ परीक्षा स्थगित भएको कुरा सुनेर म अचम्मित भए । जबकि परीक्षाको लागि मेरो सम्पूर्ण तयारी पूरा थियो ।
अहिले लकडाउनको यो अवस्थामा घरमै मात्र बसेर थप तयारी गर्न सकिरहेको छैन । म मात्र होइन, एसइई दिने सबै साथीको यस्तै हाल होला । तैपनि, म भने परीक्षाको थप तयारी गर्ने प्रयास गरिरहेको छु ।
बस्, अहिले त हामीसँग कुनै विकल्प छैन । परीक्षा नयाँ तालिका कहिले आउला र नयाँ उत्साहका साथ अन्तिम तयारी गरौंला, प्रतिक्षारत छु ।

