बीरगन्ज, २१ बैशाख – बीरगन्जमा छुट्टै कोभिड अस्पतालको आवश्यकतालाई मध्यजनर गर्दै सबै राजनीतिक दल एक ठाउँमा उभिएका छन् । आज बसेको सर्वदलीय बैठकको भेलाले नारायणी अस्पतालको सेवालाई पूर्ववत रुपमा सन्चालनमा ल्याई छुट्टै कोभिड अस्पतालको लागि सामुहिक रुपमा माग गरेको छ ।
केन्द्र सरकारसँग माग राख्दै सो भेलाले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । बीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी सहित नेकपाका जिल्ला अध्यक्ष प्रभु हजारा, नेपाली काँग्रेसका सभापति अजय दुवेद्धी, नवगठित जनता समाजवादी पार्टीका अध्यक्षद्धय राम नरेश यादव र जगदीश पटेलको उपस्थितिमा भएको सर्वदलीय भेलाले यस्तो माग राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ज्ञापन पत्र बझाएको हो ।
ज्ञापन पत्रमा नारायणी अस्पताल कोभिड अस्पतालका रुपमा परिणत हुँदा अन्य रोगका बिरामी सर्वसुलभ स्वास्थ्य सेवाबाट बन्चित भएको र महँगो शुल्क तिर्न बाध्य भएको जनाइएको छ ।
साथै, तीन जना मृगौला रोगीले नियमित डायलासिस सेवाको अभावमा ज्यानै समेत गुमाएको हुनाले सर्वसाधारणको स्वास्थ्य हक संरक्षणका निम्ति नारायणीलाई पूर्ववत रुपमा सन्चालन गर्न माग गरिएको छ ।
साथै, यस भेगका कोरोना संक्रमितको उपचारका लागि छुट्टै कोरोना अस्पताल घोषणा गरी सन्चालनमा ल्याउन पनि केन्द्र सरकारसँग ज्ञापन पत्रमा माग गरिएको छ ।

