बीरगन्ज, २२ बैशाख – बाह्र वर्षदेखि फरार रहेका लागुऔषधका एक कारोबारीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बहुदरामाई नगरपालिका वडा नं. ६ बस्ने वर्ष ३५ का शिव प्रसाद महतो रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले हिजो महतोलाई गाउँबाटै पक्राउ गरेको हो । लागुऔषध मुद्दामा १५ वर्षको कैद सजाय र पाँच लाख २५ सय समेतको जरिवाना तोकिएका उनी विगत १२ वर्ष देखि फरार थिए ।
लागुऔषध गाँजा र अफिम मुद्दामा पर्सा जिल्ला अदालतले २०६७ साल माघ २४ गते महतोमाथि १५ वर्षको कैद सजाय र पाँच लाख २५ सय जरिवानाको फैसला सुनाएको थियो ।
तर फरार भएका महतो प्रहरीको आँखा छल्दै लुकिछिपी बस्दै आएका थिए । यसैबीच, गाँउमै लुकेर बसको भन्ने सूचना पाएर महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका महतोलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

