आइतबारदेखि ५ दिनसम्म देशभर वर्षा, तराईको अधिकांश स्थानमा बाढी र डुबानको सम्भावना

spot_img

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार अर्थात साउन ४ गतेदेखि साउन ८ गतेसम्म देशभरका सबै ठाउँमा वर्षा हुने सम्भावना रहेको पूर्वजानकारी दिएको छ । वर्षा सामान्यदेखि भारीसम्मको हुने र तराईका अधिकांश स्थानमा बाढी तथा डुबानको समस्या देखिन सक्ने भन्दै सचेत रहन अनुरोध गरेको छ । यस्तै पहाडी भेगमा पनि बाढी र पहिरोको समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन सचेत गराइएको छ ।

साउन ५ देखि ८ गतेसम्म प्रदेश १, २ बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्नेछ । केही नदीले सतर्कता तह पार गर्नेछ ।

ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भई बग्ने स–साना नदीनालामा साउन ९ सम्म नै आकस्मिक बहावको सम्भावना रहेकाले आवश्यक पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

साउनको ५ देखि ७ गतेसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती, र यसका सहायक नदीमा समेत बहाव बढ्ने छ । केही नदी सतर्कता तह आसपास पुग्नेछ ।

प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आकस्मिक बहाव आउने सम्भावना रहेकाे प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय