जनकपुरधाम, कार्तिक १३ ।प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले सत्तारुढ पाँचदलीय गठबन्धनले ९५ प्रतिशत सिट जित्ने दाबी गरेकी छन् ।
आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राणाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेकाले गठबन्धनको जित सुनिश्चित रहेको दाबी गरेकी हुन् ।
राणा आइतबार छठ पर्वमा दर्शन गर्न जनकपुरधाम आएकी हुन् । उनी आज दिउँसो जनकपुरधामस्थित गंगासागरमा छठ पर्व हेर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, सोमबार विहान उदाउँदो सूर्यलाई अर्घ दिने क्रममा नेतृ राणा पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको गृह गाउँ नगराइन नगरपालिका जाने कार्यक्रम रहेको कांग्रेस धनुषा क्षेत्र नम्बर–३ का क्षेत्रीय सभापति धिरेन्द्र निधिले जानकारी दिए । सोमबार नै उनी नगराइन नगरपालिकाअन्तर्गतको नेपाल–भारत सीमा जटही पुगेर नाका अवलोकन गर्ने क्षेत्रीय सभापति निधिले जानकारी दिए ।

