जनकपुरधाम, कार्तिक १३ । छठपर्वअन्तर्गत तेस्रो दिन जनकपुरधाममा छठ ब्रर्तालु अर्घ लिएर छठ घाटमा पुग्न थालेका छन्। छठ पर्वका लागि विभिन्न पोखरी, सरोवर, कुवा, नदीलाई सजाइएको छ। जनकपुरधाममा भने छठको छुट्टै रौनक हुने गर्छ। यहाँ छठ पर्वका लागि हप्ता अगाडिदेखि घाटहरू सजाइन्छ।
पर्व हेर्न भनी आन्तरिकदेखि बाह्य पर्यटकहरूसमेत हेर्न आउने गर्छन्।शुक्रबारदेखि विधिवत रूपमा सुरु भएको छठको पहिलो दिन नहाय-खाय विधि गरिएको थियो। पहिलो दिन नुहाएर प्याज, लसुन, मसुलीको दाललगायतका वस्तु खान छाडिएको थियो भने दोस्रो दिन शनिबार साँझ खरना विधि सम्पन्न भएको थियो। ब्रतालुहरूले इष्टदेवलाई पूजा आराधना गरी खरना विधि सम्पन्न गरेका हुन्।माटोको नयाँ चुलो र माटोकै नयाँ भाँडोमा ब्रतालुहरूले सक्खर, दूध र चामलबाट बनेको खीर खरनामा नैवेद्यको रूपमा दिएका छन्। खरनामा छठपर्वको मुख्य दिन चढाउने अर्घ जति स्थानमा केराको पातमाथि नैवेद्य चढाउने परम्परा छ।
खरनामा नैवेद्यमा खीर, दूध, केरा, मूला, अदुवा, पान र सुपारी आदि राखिन्छन्। नैवेद्यलाई केराको पातमा राखेर छठीमातालाई चढाइन्छ। नैवेद्यलाई उत्सर्ग गरिसकेपछि ब्रतालु र परिवारजनले प्रसाद ग्रहण गर्ने प्रचलनलाई खरना भन्ने गरिन्छ।
छठको दोस्रो दिन हुने खरनामा बनेको खीर खाएपश्चात ब्रतालुहरू छठको चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिइ खाना खान्छन्। यस अवधिमा ब्रतालुहरु पानीसमेत खाँदैनन्।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यो पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना गर्ने गरिन्छ। यस पर्वको पहिलो दिन नुहाएर चोखो भइ खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदै गरेको र चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि विधिवत् रूपमा पर्व समापन हुनेछ।

छठ पर्वको लागि जनकपुरधामका प्रमुख पोखरीहरू झिलिमिली पारिएकाे छ। आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइनेछ भने भोलि उदाउँदै गरेको सूर्यलाई अर्घ दिइनेछ।

