बीरगन्ज, ११ चैत्र । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा आगामी वैशाख ३ गते बारा आउँदै छन्। उनी नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ३ को प्रथम क्षेत्रीय भेलामा प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन् ।
नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ३ का सचिव एवं युवा नेता राजेश भण्डारीका अनुसार, महामन्त्री थापाको आगमनसँगै भेलाको तयारी तीव्र पारिएको छ। ‘कांग्रेसलाई एकताबद्ध गर्दै जनताको पहिलो साथीका रूपमा स्थापित गर्ने लक्ष्यसहित महामन्त्री थापा भेलामा आउन लाग्नुभएको हो,’ भण्डारीले भने।
थापालाई प्रमुख अतिथि बनाउने निर्णयका लागि नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ३ का सभापति प्रभात कुमार चौरसिया, सचिव राजेश भण्डारी, युवा नेतृ तथा जितपुर सिमरा उपमहानगरपालिकाकी उपमेयर प्रत्याशी मेघा शाही, तरुण दलका केन्द्रीय सदस्य सुबास जयस्वाललगायतका नेताहरू केही दिनअघि काठमाडौंस्थित थापाको निवासमा पुगेका थिए।
भेला वैशाख ३ गते हुने तय भए पनि स्थान भने टुंगो लागेको छैन। समितिले चाँडै नै अन्तिम निर्णय गर्ने जनाएको छ। महामन्त्री थापाको बारा आगमनले स्थानीय कांग्रेस कार्यकर्ताहरूमा उत्साह थपिएको छ।

