मुस्ताङ, २२ चैत्र । हिन्दू तथा बौद्धमार्गीहरूको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा ६ महिनासम्म विशाल महायज्ञ सञ्चालन हुने भएको छ। मुक्तिनाथ मन्दिरका पीठाधीश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको अगुवाइमा यही चैत २४ गते रामनवमीदेखि बडादसैंसम्म महायज्ञ आयोजना गरिने भएको हो।
महायज्ञको मुख्य उद्देश्य मुक्तिनाथधामको प्रचारप्रसार, धार्मिक पर्यटन प्रवर्द्धन, शालिग्राम शिलाको संरक्षण तथा विश्वशान्तिको कामना गर्नु रहेको छ। यसैक्रममा, स्वामी कमलनयनाचार्यको नेतृत्वमा श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी (नवलपरासी) बाट सुरु भएको श्रीगजेन्द्रमोक्षनारायण–मुक्तिनाथ रथयात्रा जोमसोम पुगेर मुक्तिनाथधाममा समापन हुने भएको छ।
रथयात्रामा दर्जनौं स्वामी, पूजारी तथा २०० भन्दा बढी भक्तजन सहभागी छन्। यात्रा टोलीलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित पर्यटन व्यवसायी, स्थानीय बासिन्दा, सुरक्षाकर्मी र कर्मचारीहरूले भव्य स्वागत गरेका थिए।
स्वामी कमलनयनाचार्यले महायज्ञले मुक्तिनाथधामको महत्वलाई उजागर गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान दिने बताए। “हाम्रो लक्ष्य मुक्तिनाथलाई विश्वव्यापी रूपमा धार्मिक पर्यटन केन्द्र बनाउनु हो। यस महायज्ञबाट हजारौं तीर्थयात्री मुक्तिनाथ आउने वातावरण तयार हुनेछ,” उनले भने।
चैत २४ गतेदेखि बडादसैंसम्म सञ्चालन हुने महायज्ञमा रामायण, वेद, पुराण तथा उपनिषदका पाठ, अखण्ड हरिनारायण कीर्तन, हवन तथा विभिन्न धार्मिक अनुष्ठानहरू गरिनेछ। महायज्ञ अवधिभर मुक्तिनाथधाममा भव्य धार्मिक गतिविधिहरू सञ्चालन हुने कागबेनीधामका पूजारी प्रताप आचार्यले जानकारी दिए।

