वीरगन्ज,२५ चैत । वीरगन्जस्थित भारतीय वाणिज्य दूतावासको प्रांगणमा जनचेतना लक्षित विशेष योग कार्यक्रम सम्पन्न भएको छ। महावाणिज्य दूत देवी शरण मीणाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगञ्जको सहकार्यमा आयोजना गरिएको हो।
कार्यक्रममा योग प्रशिक्षक एस. ए. बल्बिन्दर सिंह, ग्रीन सिटी सामुदायिक प्रहरीका जयप्रकाश खेतान, उद्योगी, व्यवसायी, पत्रकार, समाजसेवी, महिला तथा पुरुष गरी विभिन्न वर्गका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम अन्तर्राष्ट्रिय योग दिवस–२०८१ को ७५ दिनअघिको पूर्व–उत्सवको रुपमा विशेषरुपमा मनाइएको हो। योगमार्फत जीवनशैलीमा सकारात्मक परिवर्तन र स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएका छन्।
यसै उपलक्ष्यमा भारतीय दूतावास काठमाडौं र पशुपतिनाथ क्षेत्र विकास समितिको संयुक्त आयोजनामा काठमाण्डौस्थित पशुपतिनाथ मन्दिर परिसरमा समेत विशेष योग जनचेतना कार्यक्रम आयोजना गरिएको छ।

