शिक्षक आन्दोलनमा मोडालिटी परिवर्तनको संकेत, सरकारको निर्णय कुर्न महासंघ तयार

spot_img

काठमाडौं, ३१ चैत्र । शिक्षक महासंघले सरकारले शिक्षकमैत्री निर्णय गरेमा हाल जारी आन्दोलनको मोडालिटी परिवर्तन हुन सक्ने संकेत दिएको छ । शिक्षकहरूको सेवा सुविधासम्बन्धी मागलाई लिएर शिक्षा मन्त्रालय र महासंघबीच बिहीबारदेखि निरन्तर संवाद भइरहेको छ। शनिबार शिक्षा मन्त्रालयको टोलीसँगको छलफलपछि महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले क्याबिनेटले स्पष्ट निर्णय गरे मात्र आन्दोलनको ढाँचामा फेरबदल सम्भव हुने बताइन्।

उनले भनिन्, “क्याबिनेट र मन्त्रालयले शिक्षकहरूको हकहितमा निर्णय गरे आन्दोलनको मोडालिटी परिवर्तन हुन सक्छ। ऐन जारी गर्ने सुनिश्चितता भएमा मात्र आन्दोलनमा केही लचिलोपन आउन सक्छ।”

तर उनले निष्कर्षमा पुग्न भने अझै समय लाग्ने बताइन्। “मैले मात्रै भनेर हुने होइन। स्पष्ट ग्यारेन्टी नभएसम्म आन्दोलन रोकिन्न,” पराजुलीले स्पष्ट पारिन्।

शिक्षा र अर्थ मन्त्रालयबीच छलफलपश्चात आज पुनः महासंघ र सरकारबीच संवाद हुने भनिएको छ। महासंघले ऐन निर्माणमा सरकार गम्भीर देखिए मात्र आन्दोलनलाई दबाबको रूपमा सीमित बनाउने योजना बनाएको छ।

महासंघको माग अनुसार विशेष अधिवेशन, बर्खे अधिवेशन वा अध्यादेशमार्फत शिक्षासम्बन्धी ऐन तत्काल जारी गर्नुपर्ने दाबी गरिएको छ।

२० चैतदेखि देशभरबाट आएका शिक्षकहरूले राजधानी काठमाडौंमा प्रदर्शन जारी राखेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय