काठमाडाैं,२३ बैशख । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मुलुकमा स्वास्थ्य जनशक्तिको उत्पादनमा प्रगति भए पनि त्यसलाई स्वदेशमै टिकाइ राख्न चुनौतीपूर्ण अवस्था रहेको बताएका छन्।


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३औं स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले काठमाडौं उपत्यकाभित्र जनशक्ति पर्याप्त भए पनि बाहिरी क्षेत्र, विशेषगरी दुर्गम जिल्लामा दरबन्दीअनुसारको कर्मचारी नपुग्ने समस्या रहेको उल्लेख गरे।
“नौवटा दरबन्दी रहेको संघीय अस्पतालमा एकजना मात्र मेडिकल सुपरिटेन्डेन्ट कार्यरत हुनु चिन्ताको विषय हो,” मन्त्री पौडेलले भने, “हामी जनशक्ति उत्पादन त गर्छौं, तर कम खर्चिलो, जनमैत्री प्रणाली विकास गरी उनीहरूलाई दुर्गममा टिकाउनुपर्ने अवस्था छ।”

उनले देशभरका प्रदेश अस्पतालहरूमा मुटु, मिर्गौला र क्यान्सरजस्ता रोगको सेवा विस्तार भए पनि लोकसेवा परीक्षा दिएर टाढा काम गर्न जाने जनशक्ति अभाव देखिएको उल्लेख गर्दै नीति स्पष्ट गर्न न्याम्सलाई आग्रह गरे।
राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. आरपी विच्छाले सरकारले आगामी वर्षका नीति तथा कार्यक्रममा बीमा पुनर्संरचना, प्रत्येक प्रदेशमा विशिष्ट सेवा विस्तार तथा बालबालिका र ज्येष्ठ नागरिकको उपचार सुनिश्चित गर्ने विषय समेटिएको जानकारी दिए।
न्याम्सका उपकुलपति डा. भुपेन्द्र बस्नेतले स्नातकोत्तर तहमा सिट वृद्धि, अनुसन्धानमा अन्तर्राष्ट्रिय सहकार्य तथा विशेषज्ञ उत्पादनमा न्याम्सले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताए।
कार्यक्रममा उत्कृष्ट अकादमिक प्रदर्शन र अनुसन्धानमा विशिष्टता हासिल गर्ने चिकित्सकहरूलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। त्यस्तै, पुराना विशेषज्ञ डा. सुदीपकुमार भट्टाचार्यलाई दीर्घ योगदानको कदरस्वरूप विशेष सम्मान प्रदान गरिएको थियो।