एजेन्सी,१६ असार । भारतको हैदराबादस्थित पटानचेरुवु औद्योगिक क्षेत्रमा रहेको सिगाची केमिकल कारखानामा भीषण विस्फोट हुँदा कम्तिमा १० जनाको ज्यान गएको छ भने २० भन्दा बढी कामदार गम्भीर घाइते भएका छन्।
प्रारम्भिक विवरणअनुसार विस्फोटपछि कारखानामा ठूलो आगलागीसमेत भएको थियो। विस्फोटका कारण कारखानाको एक ठूलो हिस्सा पूर्णरूपमा ध्वस्त भएको छ।
घटनापछि उद्धार कार्य तीव्र पारिएको छ। केही कामदार भग्नावशेषमुनि फसेको आशंका गरिएको छ, जसको खोजी तथा उद्धार कार्य जारी रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ।
गम्भीर घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ भने घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ। प्रारम्भिक अनुमानअनुसार कारखानामा प्रयोग भएको रसायनको असावधानीपूर्वक हेरचाहले विस्फोट भएको हुन सक्ने बताइएको छ। सिगाची केमिकल भारतको एक प्रमुख औद्योगिक रासायनिक उत्पादन कम्पनी हो। यस्ता घटनाले औद्योगिक सुरक्षा र नियमन प्रणालीप्रति गम्भीर प्रश्न उठाएको देखिएको छ।

