‘पार्टी फुट्ने हल्ला भ्रमको खेती मात्रै हो : जनार्दन शर्मा

spot_img

काठमाडौं, १३ साउन  । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी फुट्ने चर्चा निराधार र भ्रामक भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले यस्ता हल्लाले कार्यकर्ता र जनतामा ‘भ्रमको खेती’ गरिरहेको आरोप लगाए।

“विगत दुई वर्षदेखि माथिल्लो तहबाटै पार्टी फुट्ने हल्ला फैलाइएको छ,” शर्माले लेखेका छन्, “अब त्यही प्रचारलाई थप मलजल गर्ने प्रयास भइरहेको छ। कार्यकर्ता र जनतालाई सतर्क रहन आग्रह गर्दछु।”

शर्माका अनुसार पार्टीभित्र देखिएका वैचारिक अस्पष्टता, राजनीतिक अन्योल, र सांगठनिक अराजकताका सवालहरू आगामी विशेष महाधिवेशनमार्फत हल गरिनेछ। उनले पार्टीको पुनर्गठन, सुदृढीकरण र व्यवस्थापनका लागि एजेन्डा केन्द्रित बहसको खाँचो रहेको बताए।

उपमहासचिव शर्माले हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग अभियानले पार्टीमा नयाँ ऊर्जा थपेको स्मरण गर्दै पछिल्लो समय दुईबुँदे सहमतिले भने पार्टीको साखमा असर पारेको स्वीकार गरे। अहिले गम्भीर आत्मसमीक्षाको बेला आएको उनको धारणा छ।

देश, जनता र राजनीतिक दलहरू गम्भीर संकटमा रहेको उल्लेख गर्दै उनले त्यसको समाधानका लागि ‘तीन पुनः’ को सूत्र अघि सारे—संविधान संशोधन, अर्थतन्त्रको पुनर्संरचना र पार्टीको पुनर्गठन।

उनका अनुसार अर्थतन्त्रको पुनर्संरचनाले समाजवादउन्मुख मार्गमा उत्पादन, रोजगारी र आत्मनिर्भरता सुनिश्चित गर्नेछ भने संविधान संशोधनमार्फत शासकीय स्वरूप, निर्वाचन प्रणाली र पहिचानका मुद्दाहरूलाई सम्बोधन गर्दै राष्ट्रिय एकता बलियो बनाउन सकिनेछ।

शर्माले विशेष महाधिवेशन पार्टीको नयाँ दिशा तय गर्ने ऐतिहासिक अवसर हुने उल्लेख गर्दै “नयाँ पुस्ताको भावना र सपना सम्बोधन गर्ने कार्ययोजना अब तय हुनेछ,” भने।

spot_img

ताजा अपडेट

लोकप्रिय