तस्करी नियन्त्रणमा लापरबाही : सशस्त्र प्रहरीका एसपीसहित १६ अधिकारी जिम्मेवारीमुक्त

spot_img

जनकपुर,१५ भदाै । सीमा क्षेत्रमा हुने तस्करी र राजस्व छली नियन्त्रणमा लापरबाही गरेको आरोपमा सशस्त्र प्रहरी बलले एकैपटक १६ जना अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, कार्यसम्पादन कमजोर देखिएकाले उनीहरूलाई फिर्ता बोलाइएको हो। जिम्मेवारी खोसिएकामध्ये एक जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी), एक जना नायब उपरीक्षक (डीएसपी), सात जना निरीक्षक, छ जना नायब निरीक्षक (सई) र एक जना सहायक निरीक्षक (असई) रहेका छन्।

उनीहरू रौतहट, बारा, पर्सा, पश्चिम नवलपरासी, कैलाली र कञ्चनपुरलगायतका सीमावर्ती जिल्लामा खटिएका थिए। रौतहटका एसपी सन्तोष कुमार बस्नेतलाई फिर्ता बोलाएर उनको स्थानमा रामहरी अधिकारीलाई पठाइएको छ। यसैगरी, बाराको कबहीगोठ, पर्साको प्रसौनी भाठ्ठा, पश्चिम नवलपरासीको भुजहवा र कैलालीको कुसुमघाटस्थित सीमा चौकी (बीओपी) मा खटिएका कमान्डरहरू पनि हटाइएका छन्।

सशस्त्र प्रहरी मुख्यालयले सीमा क्षेत्रका कमान्डरहरूको कार्यसम्पादनमा कडा निगरानी बढाइएको र लापरबाही गर्ने जो कोही पनि कारबाहीको दायरामा पर्ने चेतावनी दिएको छ। यसअघि पनि दर्जनौं अधिकारीहरूलाई समय नपुग्दै जिम्मेवारी फिर्ता बोलाइएको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय