काठमाडौं,२८ भदौ । नेकपा एमालेका तेस्रो पुस्ताका युवा नेताहरूले पार्टी पुनर्जीवन र पुनर्गठन गर्ने उद्देश्यले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा बहस चलाउन थालेका छन्। केही केन्द्रीय सदस्यहरूले सुरु गरेको यो बहस बिस्तारै देशव्यापी फैलाउने तयारी गरिएको छ।
केन्द्रीय सदस्य ईश्वरी जिएमले पार्टीमा निरन्तर क्रियाशीलता र आदर्शमा च्युत नभएका नेता खोज्दा शीर्ष तहमा अष्टलक्ष्मी शाक्य सबैभन्दा योग्य नेता भएको बताएकी छन्। विघटित प्रतिनिधि सभा सदस्यसमेत रहेकी जिएमले एमालेमा नयाँ ढंगले पुनर्गठन गरी जनतासम्म पुग्न अष्टलक्ष्मी उपयुक्त पात्र रहेको धारणा व्यक्त गरेकी छन्।
देशभरका कार्यकर्ताहरूको भावना बुझ्दै रचना खड्का लगायतका नेताहरूले पनि यस अभियानलाई समर्थन गरिरहेका छन्। पार्टी भित्र र बाहिर यस विषयमा बहस सुरु भएको नेताहरूको भनाइ छ। एमाले उपाध्यक्ष समेत रहेकी शाक्यले कहिल्यै विवादमा नपरेकी र सुशासनका लागि पारदर्शी नेता भएको समेत चर्चा छ। पार्टी निर्माण, विस्तार र नयाँ–पुराना पुस्ताबीचको कडीका रूपमा शाक्यलाई अगाडि बढाउन पदाधिकारी तहका नेताहरू पनि सकारात्मक रहेको बताइन्छ।
शाक्यले आफ्नो पुस्ताका नेताहरू बिदा भएर नयाँ पुस्तालाई अघि बढाउनुपर्ने धारणा राख्दै आलोचनात्मक चेत विकास हुनुपर्नेमा जोड दिएकी छन्। विधानबाट दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाउने विषयमा शाक्यले विरोध गरेकी थिइन् र विद्या भण्डारीको पुनरागमनको पक्षमा पनि नरहेको बताएकी छन्। महिला नेतृत्वको रूपमा पनि अष्टलक्ष्मी शाक्यलाई सबैभन्दा उपयुक्त मानिएको छ। एक पटक मन्त्री र बागमती प्रदेश मुख्यमन्त्री समेत रहेकी शाक्य उपराष्ट्रपति पदको उम्मेदवार समेत बनेकी थिइन्।

