जनकपुर,०५ असोज । जेन–जी आन्दोलनपछिको राजनीतिक उथलपुथलबीच मधेश प्रदेशमा सत्ता फेर्ने कसरत तीव्र बनेको छ। आन्दोलनकै बीचमा जनमत पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतको निर्देशनअनुसार मुख्यमन्त्री सतिशकुमार सिंहले २४ भदौमा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेका थिए। तर प्रदेश प्रमुख अनुपस्थित रहँदा राजीनामा औपचारिकरूपमा बुझाउन सकेका थिएनन्।
यसबीचमा जनमत संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै मुख्यमन्त्रीलाई फिर्ता बोलाएको थियो। यही कारणले मुख्यमन्त्री सिंहसँग सम्बन्ध चिसिएको हो। राजीनामा गर्ने घोषणा गरेका सिंह पछि दल र गठबन्धनका नेतासँग परामर्शपछि भने पद नछोड्ने पक्षमा उभिएका छन्। उनी अहिले विश्वासको मत लिएर सरकार निरन्तरता दिने रणनीतिमा छन्।
जनमतका प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले सिंहलाई पद लोलुप भएको आरोप लगाउँदै पार्टी निर्देशन उल्लंघन गरेको भन्दै निष्कासन प्रक्रिया अघि बढाइएको बताएका छन्। उनले भने, “पार्टीले छोड भनेपछि एक मिनेट पनि पदमा बस्नु हुँदैन।”
तर एमाले, कांग्रेस र लोसपासँग गठबन्धनमा रहेका मुख्यमन्त्री सिंहले राजीनामा नगरी संघीयतालाई जोगाउन पदमा बस्ने निर्णय गरेको दाबी गरेका छन्। सिंहका अनुसार गठबन्धन दलहरूको आग्रहमा उनले राजीनामा नगरेको र अब विश्वासको मत लिएर अघि बढ्ने तयारीमा छन्।
मधेश प्रदेशमा १०७ सांसदमध्ये केही निलम्बित रहेकाले हाल प्रभावकारी संख्या १०४ छ। सिंहले गठबन्धन दलको समर्थनसहित विपक्षीबाट पनि मत तान्ने रणनीति बनाएका छन्। सत्ता सारथि एमाले र कांग्रेस दुवैले मधेशमा सरकार ढले अन्य प्रदेशमा समेत असर पर्न सक्ने भन्दै सिंहकै निरन्तरतामा चासो देखाएका छन्।
यसबीचमा जनमतभित्र भने आन्तरिक खटपट अझै गहिरिँदै गएको छ। नेता महेश यादव मुख्यमन्त्री बन्नुपर्ने दाबी गर्दै आएको पृष्ठभूमिमा अध्यक्ष राउतले सिंहलाई अघि सारेपछि असन्तुष्टि बढेको विश्लेषण गरिएको छ।
राजनीतिक जानकारहरूको भनाइमा, सिंहले पद नछोडी विश्वासको मतमा जाने निर्णयले मधेश प्रदेशको सत्ता समीकरण फेरि अस्थिर बन्ने सम्भावना देखिएको छ।

