बीरगन्ज,११ असोज । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै पर्सा प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ। असोज ६ गतेदेखि प्रभावमा आएको योजनाअनुसार जिल्लाभर ११ सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिए।
उनका अनुसार बजार, मठ–मन्दिर, बैंक तथा वित्तीय संस्था र संवेदनशील क्षेत्रहरूमा छुट्टै प्रहरी टोली खटाइएको छ। भीडभाड बढ्ने समयलाई ध्यानमा राखी मोबाइल गस्ती, पेट्रोलिङ, सरप्राइज चेकिङ तथा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ।
एसपी पाठकले भने,“कुनै घटनाको सूचना पाउनासाथ १० मिनेटभित्र प्रहरी घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको छ। यसका लागि क्विक रेस्पोन्स टिम तयारी अवस्थामा राखिएको छ।”
भारतसँगको खुला सीमाले चोरी, लुटपाट, हतियार दुरुपयोग र सीमा अपराधको जोखिम बढाउने भएकाले सिसिटिभी निगरानी, शंकास्पद व्यक्तिहरूमाथि कडा निगरानी र सूचना संकलनलाई प्राथमिकतामा राखिएको उनले स्पष्ट पारे।
जेनजी आन्दोलनको आडमा अपराध गर्ने जो कोही पनि कानुनको कठघरामा उभ्याइने चेतावनी दिँदै उनले भने,
“कानुन उल्लंघन गर्ने कसैलाई छुट दिइँदैन। आवश्यक परे मेरो जागिर जाओस्, तर अपराधीमाथि कारबाही पक्कै हुन्छ।”
नागरिकलाई शान्तिपूर्ण वातावरणमा पर्व मनाउन सहयोग पुर्याउन प्रहरी सतर्क रहेको जनाएको छ। कुनै पनि आपराधिक गतिविधि देखिएमा १०० नम्बरमा तुरुन्त खबर गर्न समेत आग्रह गरिएको छ।

