आदर्शनगरमा सशस्त्र प्रहरीको छापा, झडपमा एक सुरक्षाकर्मी घाइते

spot_img

बीरगन्ज,२६ माघ । वीरगन्जकाे आदर्शनगरस्थित एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगन्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा मारेको छ। राजस्व छलीको आशंकामा गरिएको कारबाहीका क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप हुँदा एक जना सशस्त्र प्रहरी कर्मचारी घाइते भएका छन्।

सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा बल, वीरगन्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार विशेष सूचनाका आधारमा टोली गोदाममा पुगेको थियो। खानतलासी सुरु गर्न लाग्दा स्थानीय व्यापारीहरूले विरोध जनाएपछि अवस्था तनावपूर्ण बनेको थियो।

व्यापारीहरूले भने आफूहरूसँग सामानको वैध बिलबिजक रहेको दाबी गर्दै विनाकारण दुःख दिएको आरोप लगाएका छन्। विरोधका क्रममा केही व्यक्तिले ढुङ्गामुढा गरेपछि झडप भएको सशस्त्र प्रहरीले जनाएको छ। ढुङ्गा प्रहारबाट सशस्त्र प्रहरी चढेको गाडीको अगाडिको सिसा फुटेको र एक जना सुरक्षाकर्मी घाइते भएको बताइएको छ। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

छापामारीका क्रममा गोदामबाट उल्लेख्य मात्रामा सामान नियन्त्रणमा लिइएको भए पनि त्यसको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। हाल सामानको लगत संकलन तथा मुचुल्का तयार गर्ने काम भइरहेको र गोदामको स्वामित्वबारे पनि अनुसन्धान जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

घटनापछि आदर्शनगर क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहन केसीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय