महोत्तरी,२३ फागुन । चार दशक लामो संसदीय यात्रापछि शरतसिंह भण्डारी यसपटक महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ मा पराजयको सामना गर्दै छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपककुमार साहले फराकिलो मतान्तरले भण्डारीलाई पछि पारेका छन्।
शनिबार दिउँसो २:४५ बजेसम्मको मतगणनाअनुसार, साहले २३ हजार ४६० मत प्राप्त गरेका छन् भने भण्डारीले मात्र ७ हजार ४६ मत प्राप्त गरेका छन्। करिब ४१ हजार मत गणना भइसकेको अवस्थामा भण्डारी १६ हजारभन्दा बढी मतान्तरले पछाडि छन्। यस अनुसार उनलाई अब जीत हासिल हुने सम्भावना न्यून देखिएको छ।
भण्डारी चार दशकभन्दा बढी समयदेखि निरन्तर संसद्मा रहेका नेता हुन्। उनको संसदीय यात्रा २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्यबाट सुरु भएको थियो। त्यसपछि पञ्चायतकाल र बहुदल, गणतन्त्रकालसम्म विभिन्न मन्त्री पदमा रहेर उनी सत्तासँग जोडिएका रहे। उनी स्वास्थ्य, पर्यटन, नागरिक उड्डयन, रक्षा र श्रम तथा सामाजिक सुरक्षा लगायतका मन्त्रालयमा जिम्मेवारी पाएका थिए।
२०६३ सालको मधेस आन्दोलनपछि उनी मधेसी आन्दोलनमा सहभागी भए र मधेसी जनअधिकार फोरम, राष्ट्रिय मधेस समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी र अन्ततः जसपा नेपाल मार्फत राजनीतिक यात्रा जारी राखे।
यद्यपि, यस पटकको निर्वाचनले भण्डारीको चार दशक लामो संसद् यात्रामा ब्रेक लगाइदिएको छ। चुनावी अभियानका क्रममा उनले आफ्ना समर्थकहरूसँग यसलाई ‘अन्तिम चुनाव’ भनेका थिए। परिणामअनुसार अब उनी राजनीतिबाट एक किसिमको अवकाश लिनुपर्ने अवस्थामा पुगेका छन्।
यस नतिजाले महोत्तरी–२ मा मतदाताको प्राथमिकता स्पष्ट परिवर्तन भएको देखाउँछ र नयाँ नेतृत्वका लागि मार्ग खुला भएको संकेत गरेको विश्लेषकहरूले बताएका छन्।

