काठमाडौं,२४ फागुन । आम निर्वाचनमा अपेक्षाभन्दा कमजोर नतिजा आएपछि जनमत पार्टीका अध्यक्ष सीके राउत ले आफ्ना नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गरेका छन्। आइतबार बिहान फेसबुकमार्फत सन्देश दिँदै उनले अहिलेको चुनावी परिणामलाई अस्थायी ‘हावाहुरी’ मात्र भएको बताएका छन्।
उनले देशभर नयाँ राजनीतिक शक्तिप्रति बढेको आकर्षण र पुराना दलप्रति बढ्दो असन्तुष्टिले जनमत पार्टीलाई पनि असर परेको बताए। राउतका अनुसार यो हार कुनै नेता वा उम्मेदवारको व्यक्तिगत कमजोरी नभई विशेष राजनीतिक परिस्थितिको परिणाम हो।
उनले ७०–८० वर्षदेखि राजनीति गर्दै आएका ठूला दलहरू र मधेस आन्दोलनबाट जन्मिएका पार्टीहरू पनि यस्तै परिस्थितिबाट गुज्रिरहेको उल्लेख गरे। त्यसैले अहिलेको परिणामलाई सहज रूपमा स्वीकारेर अगाडि बढ्न उनले कार्यकर्तालाई सुझाव दिएका छन्।
राउतले जनताले दिएको आदेशलाई सम्मान गर्नुपर्ने भन्दै चुनाव जित्ने दलहरूलाई सरकार चलाउन दिनुपर्ने बताए। साथै, पार्टीका नेता–कार्यकर्तालाई हारको कारण खोज्दै विवादमा नफस्न र कसैमाथि आरोप–प्रत्यारोप नगर्न पनि आग्रह गरेका छन्।
उनले पार्टीलाई सिद्धान्त र एजेन्डामा दृढ रहन आग्रह गर्दै भने, “एक–दुई वर्ष कुर्नुहोस्, सबै कुरा स्पष्ट हुन्छ। हावाहुरी स्थायी हुँदैन, अन्ततः जनता फेरि हामीतिरै फर्किन्छन्।” राउतले कार्यकर्तालाई आफ्ना गाउँठाउँमा नम्र व्यवहार गर्न, कसैप्रति कठोर भाषा प्रयोग नगर्न र जनताको सेवामा निरन्तर लागिरहन पनि अपिल गरेका छन्।

