चैती छठको दोस्रो दिन ‘खरना’ पर्व श्रद्धापूर्वक मनाइँदै

spot_img

बीरगन्ज,०९ चैत  । सूर्य उपासनाको महापर्व चैती छठअन्तर्गत आज सोमबार दोस्रो दिन तराई–मधेसका जिल्लाहरूमा धार्मिक विधिपूर्वक ‘खरना’ पर्व मनाइँदै छ ।

आइतबार ‘नहा–खा’ गरी सुरु भएको चार दिने यस अनुष्ठानको दोस्रो दिन व्रतालुहरू दिनभरि निराहार उपवास बसेर साँझपख कूल देवताको पूजा गर्दै चन्द्रोदयपछि खरना मनाउने तयारीमा छन् ।
खरनाका दिन साँझ घरमा खीर, पुरी, लड्डु र केरासहितका प्रसाद तयार गरी छठी माता र सूर्यदेवलाई अर्पण गरेर आगामी मुख्य पूजाका लागि आगमनको निम्तो दिने परम्परा रहेको छ ।

बीरगन्ज–१७ की व्रतालु सुमिन्त्रा देवीका अनुसार खरनाको प्रसाद ग्रहण गरेपछि व्रतालुहरूको कठिन निर्जल उपवास सुरु हुन्छ, जुन बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र सम्पन्न हुनेछ ।
पारिवारिक सुख, शान्ति र रोगमुक्तिको कामना गर्दै मनाइने यो पर्व पर्सा, बारा, रौतहटसहित तराईका विभिन्न जिल्ला र छिमेकी भारतीय भूभागमा समेत हर्षोल्लासका साथ मनाइँदै छ ।
कलैयाका संस्कृतिविद् छवीरमण सुवेदीका अनुसार यस पर्वले मानवमा सत्य, अहिंसा र सबै जीवप्रति सहानुभूति राख्ने मानवीय गुणको विकास गराउँछ ।

मंगलबार षष्ठीका दिन चैती छठको मुख्य आकर्षण रहनेछ, जहाँ व्रतालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिनेछन् । यसका लागि पोखरी, नदी र तलाउहरूलाई विशेष रूपमा सिँगारिएको छ । ठेकुवा, भुसवा, खजुरीया जस्ता परम्परागत पकवान र विभिन्न फलफूलसहितको ‘सझिया घाट’ को रौनकले तराईको वातावरण भक्तिमय बनेको छ ।

पौराणिक मान्यताअनुसार द्रोपदीसहित पाण्डवहरूले अज्ञातवास सफल होस् भनी सूर्यको आराधना गरेको समयदेखि नै यो पर्वको सुरुवात भएको जनविश्वास छ । त्यस्तै, सूर्य पुराणमा माता अनुसुईयाले सर्वप्रथम यो व्रत गरी अटल सौभाग्य प्राप्त गरेको उल्लेख छ ।

धार्मिक आस्थाको केन्द्र मानिने यो पर्व पछिल्लो समय सामाजिक सद्भावको सेतुका रूपमा समेत विकसित भएको छ, जहाँ हिन्दू मात्र नभई मुस्लिम समुदायको समेत सहभागिता देखिन्छ । बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन हुने यस महापर्वले तराईको जनजीवनलाई सांस्कृतिक र आध्यात्मिक एकतामा गाँसेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय