काठमाडौं,२१ चैत । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका भग्नावशेष खस्दा घाइते भएका नेपालीमध्ये ६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अबुधाबीस्थित नेपाली दूतावासका अनुसार घाइते सातै जनासँग निरन्तर सम्पर्क भइरहेको छ । तीमध्ये ६ जनालाई उपचारपछि घर फर्काइएको छ भने बाँकी एक जनाको अवस्था पनि खतरामुक्त रहेको जनाइएको छ ।
यूएईको सरकारी सञ्चारमाध्यममार्फत सात जना नेपाली घाइते भएको खबर सार्वजनिक भएपछि दूतावासले सक्रियता देखाउँदै उनीहरूको अवस्थाबारे जानकारी संकलन गरेको थियो ।
गत शुक्रबार इरानले प्रहार गरेको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले निष्क्रिय बनाउने क्रममा त्यसका भग्नावशेष अबुधाबीको अजबान क्षेत्रमा खसेका थिए । सो घटनामा ७ नेपालीसहित कुल १२ जना घाइते भएका थिए, जसमा ५ जना भारतीय नागरिक पनि रहेका छन् ।
दूतावासले सबै घाइतेको स्वास्थ्य अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको जनाएको छ ।

