ढल्केबरस्थित जङ्गल नजिकका वस्तीमा चितुवाको त्रास

spot_img

जनकपुर,२२ चैत । धनुषाको मिथिला नगरपालिका–७ अन्तर्गत जंगल आसपासका बस्तीमा चितुवा प्रवेश गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।

केमलीपुर, गैरीटोल र ऐक्लेबर क्षेत्रका बासिन्दा पछिल्लो करिब १२ दिनदेखि चितुवाको डरमा बस्न बाध्य भएका छन्। वडा अध्यक्ष रामबहादुर स्याङ्दनका अनुसार चितुवाले हालसम्म पाँच वटा खसीबाख्रा खाइसकेको छ भने एउटा पाडोलाई गम्भीर घाइते बनाएको छ। साथै दुईवटा घरपालुवा कुकुरसमेत चितुवाको सिकार बनेका छन्।

मानिसमाथि प्रत्यक्ष आक्रमण नभए पनि लगातार पशुचौपायामा क्षति पुर्‍याइरहेकाले जोखिम बढेको स्थानीयको भनाइ छ। बस्ती नजिकै चितुवा देखिन थालेपछि सर्वसाधारणमा डर र त्रास फैलिएको छ।

घटनाबारे डिभिजन वन कार्यालय धनुषालाई जानकारी गराइएको छ। कार्यालयका प्रमुख विनोद सिंहले प्रभावित क्षेत्रमा गस्ती टोली परिचालन गरिएको र चितुवाको गतिविधि निगरानीमा राखिएको बताए।

उनले स्थानीयलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै रातिको समयमा एक्लै हिँडडुल नगर्न, पशुचौपाया सुरक्षित राख्न र कुनै असामान्य गतिविधि देखिए तुरुन्त जानकारी दिन अनुरोध गरेका छन्।

वन क्षेत्रमा आहार अभाव र मानव बस्ती विस्तारका कारण वन्यजन्तु बस्तीमा पस्ने क्रम बढेको बताउँदै स्थानीयले चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर अन्यत्र स्थानान्तरण गर्न माग गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय