सुनिल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु

spot_img

काठमाडौं,२५ चैत । सुनिल पौडेल सहित ६ जनाविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टसहितको इजलासमा मुद्दाको बहस अघि बढाइएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित अन्य कर्मचारी र एक निजी कम्पनीलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गरेको थियो। उनीहरूमाथि ‘हाई कम्प्युटर इन्फ्रास्ट्रक्चर’ खरिदमा अनियमितता गरी राज्यलाई १५ करोड ८८ लाख रुपैयाँभन्दा बढी नोक्सानी पुर्‍याएको आरोप छ।

अभियोग अनुसार, तोकिएको मापदण्डभन्दा कमजोर गुणस्तरको सामग्री आपूर्ति गराएर झुट्टा कागजातका आधारमा भुक्तानी गरिएको बताइएको छ। यस प्रकरणमा तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली तथा आपूर्तिकर्ता कम्पनी वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिका अध्यक्ष अरुण श्रेष्ठ पनि मुछिएका छन्।

आर्थिक वर्ष २०७६/७७ मा करिब ३० करोड रुपैयाँभन्दा बढी लागतको परियोजनामा मिलेमतो गरी कम क्षमताको उपकरण जडान गरिएको आरोप छ। सार्वजनिक पदमा रहेको व्यक्तिको संलग्नता भएकाले मुख्य आरोपी पौडेलविरुद्ध थप सजायको माग समेत गरिएको छ।

मुद्दाको सुनुवाइ जारी रहेको छ र अदालतले यस प्रकरणमा अन्तिम फैसला पछि सुनाउनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय