काठमाडौँ, २८ चैत । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले एयरपोर्टमा हवाई टिकटको बिल वा भुक्तानीको रसिद देखाउन नपर्ने स्पष्ट पारेको छ।
वैदेशिक रोजगार विभागले टिकटको बिल र म्यानपावर कम्पनीलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य गर्ने निर्णय गरेपछि उत्पन्न अन्योलका बीच अध्यागमनले यस्तो स्पष्टीकरण दिएको हो।
विभागका अनुसार श्रमिकहरूले श्रम स्वीकृति, राहदानीलगायतका आधारभूत कागजात मात्र देखाए पुग्नेछ। अतिरिक्त रूपमा कुनै बिल वा रसिद आवश्यक नपर्ने उल्लेख गरिएको छ।
अध्यागमन विभागले गृह मन्त्रालयको निर्णय र प्रचलित कानुनी व्यवस्थाअनुसार विदेश यात्रा गर्दा आवश्यक कागजातको मापदण्ड स्पष्ट गर्दै भ्रममा नपर्न नागरिकलाई आग्रह गरेको छ।
यस्तै, भिजिट भिसामा विदेश जाने नेपालीका लागि कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्य देशको भिसा र हवाई टिकट भए पुग्ने व्यवस्था रहेको पनि विभागले जनाएको छ।
यसअघि वैदेशिक रोजगार विभागले चैत २९ गतेदेखि लागू हुने गरी टिकटको बिल र सेवा शुल्कको रसिद अनिवार्य गर्ने निर्णय गरेको थियो, जसले सेवाग्राहीमा अन्योल सिर्जना गरेको थियो।

