काठमाडौँ,२२ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आयुर्वेद, योग तथा ध्यानजस्ता परम्परागत उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोडेर अघि बढाउन सके दीर्घकालीन स्वास्थ्य लाभ हासिल गर्न सकिने बताएका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा ब्रह्मभूमि हेल्थ रिसर्च सेन्टर द्वारा आयोजित ‘आयुर्वेद, योग तथा ध्यानमार्फत स्वास्थ्य’ शीर्षकको अन्तर्राष्ट्रिय सङ्गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
उपराष्ट्रपति यादवले योगले जीवनशैलीजन्य रोग नियन्त्रणमा सहयोग पुर्याउने र ध्यानले मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धन गर्न मद्दत गर्ने उल्लेख गरे। उनले आयुर्वेद स्थानीय जडीबुटी र परम्परागत ज्ञानमा आधारित उपचार पद्धति भएकाले यसको महत्व अझ बढेको बताए।
उनका अनुसार संविधानले सुनिश्चित गरेको स्वास्थ्य अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न आधुनिक चिकित्सा प्रणालीसँगै आयुर्वेद, योग र ध्यानलाई पनि समान रूपमा प्रवर्द्धन गर्न आवश्यक छ।
उपराष्ट्रपति यादवले विश्वव्यापी महामारी, मानसिक तनाव, जीवनशैलीजन्य रोग र जलवायु परिवर्तनजस्ता चुनौतीको सामना गर्न परम्परागत उपचार पद्धति र आधुनिक वैज्ञानिक अनुसन्धानबीच सहकार्य अपरिहार्य रहेको बताए।
साथै उनले विद्यालय, समुदाय र कार्यस्थलमा योग तथा ध्यानलाई प्रोत्साहन गर्नुपर्ने तथा ग्रामीण र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दा आयुर्वेदलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।




