काठमाडौं,२२ जेठ । मापदण्ड विपरीत गरिएको भन्दै विवादमा परेको एसएसपी शान्तिराज कोइरालाको सरुवा रोकिएको छ। उनलाई हालै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा इन्चार्जका रूपमा सरुवा गरिएको थियो।
तर १८ जेठमा भएको उक्त सरुवापछि प्रक्रिया र मापदण्डको विषय उठेपछि उनको सरुवा कार्यान्वयन नगर्ने निर्णय भएको हो। उनको स्थानमा नयाँ ट्राफिक इन्चार्जका रूपमा एसएसपी सुरेश काफ्लेलाई खटाइएको नेपाल प्रहरी का केन्द्रीय सहप्रवक्ता डीपशमशेर जबराले जानकारी दिएका छन्।
यसअघि एसएसपी कोइरालाले नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्ज, पर्साको कमान्ड सम्हालेका थिए। त्यहाँबाट उनलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सरुवा गरिएको थियो।
तर प्रहरी सरुवा प्रणालीमा लागू गरिएको मापदण्डअनुसार ‘क, ख, ग’ श्रेणीका आधारमा मुद्दाको चाप, कार्यभार र कार्यालयको प्रकृतिलाई मूल्याङ्कन गरेर सरुवा गर्नुपर्ने व्यवस्था छ। सोही मापदण्डको उल्लंघन भएको भन्दै सरुवा प्रक्रिया पुनः समीक्षा गरिएको बताइएको छ।
प्रहरी प्रधान कार्यालयले पछिल्ला दिनमा सरुवा प्रणालीलाई अझ व्यवस्थित र पारदर्शी बनाउन मापदण्ड कडाइका साथ लागू गर्दै आएको जनाएको छ।




