भूकम्पले भत्किएको भवनबाट संवेदनशील फाइल चोरी, ४ चिनियाँ नागरिक पक्राउ

spot_img

काठमाडौं, १९ चैत्र । थाइल्याण्डको राजधानी बैंककमा भूकम्पले भत्काएको भवनबाट संवेदनशील फाइल चोरी गरेको आरोपमा ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। बैंकक प्रहरीले उनीहरूलाई राज्य लेखापरीक्षण कार्यालयको कोठाबाट ३२ वटा फाइल चोरी गरेको अभियोगमा पक्राउ गरेको हो।

गत हप्ता म्यानमार केन्द्रबिन्दु भएर गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण सो भवन क्षतिग्रस्त भएको थियो। निषेधित क्षेत्र घोषणा गरिएको उक्त भग्नावशेषभित्र ती चिनियाँ नागरिक अनधिकृत रूपमा प्रवेश गरेको प्रहरीले जनाएको छ।

थाइ न्यूज पोर्टल द नेशनल का अनुसार सो भवन चिनियाँ सहयोग परियोजनाअन्तर्गत निर्माण गरिएको थियो। उच्च भूकम्पीय प्रतिरोध क्षमता भएको भनिएको भवन भूकम्पको केही सेकेन्डमै भत्किएको थियो। सो भवन भत्कँदा १८ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए।

प्रहरी अनुसन्धान अनुसार पक्राउ परेकामध्ये एक जना भवन निर्माण परियोजनाका पूर्व म्यानेजर हुन्, भने अन्य तीन जनाले आफूहरू सब-कन्ट्र्याक्टर भएको बताएका छन्। चोरी गरिएका फाइलहरूमा भवनको डिजाइन, निर्माण सामग्री, लागत, र भुक्तानी दाबीसम्बन्धी महत्त्वपूर्ण कागजात रहेका थिए।

चिनियाँ निर्माण परियोजनाका कमजोरीहरू लुकाउन यी फाइल चोरी गरिएको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बैंकक प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय