बैंकक, २० चैत्र । म्यानमारमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २,८८६ पुगेको छ भने ४,६३९ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार अझै ३७३ जना बेपत्ता छन्।


म्यानमार रेडक्रस सोसाइटीका अध्यक्ष म्यो न्युन्ट ले उद्धार तथा राहत वितरणमा उपकरण र सुरक्षा चिन्ताका कारण समस्या भइरहेको बताएका छन्। ‘प्राकृतिक प्रकोपको मूल्यांकन र आपतकालीन आपूर्ति वितरणमा समन्वयको अभावले ठूलो चुनौती पैदा गरेको छ,’ उनले भने।
शुक्रबार दिउँसो ७.७ म्याग्निच्युडको भूकम्प म्यानमारको सागिङ सहरको उत्तर-पश्चिम क्षेत्रमा गएको थियो। अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) का अनुसार केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो।

भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ भने केन्द्रबिन्दु म्यानमारको मन्डाले सहरबाट १७ किमि टाढा पर्छ। सैन्य सरकारले मन्डाले विमानस्थलमा अस्थायी अस्पताल र राहत शिविर सञ्चालनमा ल्याएको जनाएको छ।
यस भूकम्पको असर थाइल्यान्ड सम्म पुगेको छ, जहाँ बैंककमा १८ जनाले ज्यान गुमाएका छन्। थाई अधिकारीहरूका अनुसार ३३ जना घाइते भएका छन् भने ७२ जना अझै हराइरहेका छन्, जसमा अधिकांश निर्माणाधीन भवनमा फसेको आशंका गरिएको छ।