त्रियुगा नदीको बाढीले जन्ती पुर्‍याएर फर्किएको बस बगायो

spot_img

उदयपुर,२३ बैशाख । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई–बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीमा आएको बाढीले जन्ती पुर्‍याएर फर्किँदै गरेको बस बगाएको छ। सोमबार राति ११ बजे सिवाईबाट सप्तरीमा जन्ती पुर्‍याएर फर्कने क्रममा बराहक्षेत्र यातायातको को १ ख ४७५३ नं. यात्रुबाहक बस नदीमा फसेर डुबेको हो।

इलाका प्रहरी कार्यालय सिवाईका असई जगदिशप्रसाद मेहताका अनुसार बसमा चालक र सहचालक मात्रै थिए र उनीहरू सकुशल छन्। बस निकाल्न क्रेन मगाइएको छ। बस धरान–बेल्टार रूटमा चल्ने न्यू प्रतिसारा यातायातमार्फत सञ्चालित हो।

तर, यो घटना त्रियुगा नदीमा हरेक बर्खामा देखिने पुरानै समस्याको पुनरावृत्ति हो। सिवाई–बेल्हा जोड्ने पक्की पुल १२ वर्षपछि निर्माण भए पनि उद्घाटन नहुँदै बाढीले भत्किएपछि स्थानीयहरू जोखिम मोलेर नदी तर्न बाध्य छन्। बर्खायाममा अस्थायी बाटो पनि काम नलाग्ने भएपछि यहाँका नागरिकले दैनिक ज्यान जोखिममा राखेर यात्रा गर्नुपरेको वडाध्यक्ष तुलसीराम ढकालले बताए।

उक्त पुल २०६६ मा शिलान्यास भई २०७८ सम्ममा निर्माण सम्पन्न हुने अवस्थामा थियो। तर, त्रियुगा नदीमा आएको बाढीले पुलका दुई पिलर भासिएपछि तीन स्पानमा क्षति पुग्यो र पुल अलपत्र बन्यो। यो पुल उदयपुरलाई खोटाङ र भोजपुरका दुर्गम क्षेत्रसँग जोड्ने महत्वपूर्ण संरचना थियो, जसले करिब २० हजार जनतालाई नगर केन्द्रसँग जोड्ने काम गर्नेछ।

पुल निर्माण महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सनले गरेको हो भने यसको परीक्षण स्वाइल कन्सल्टेन्सी, बालाजु काठमाडौंले गरेको थियो। पुलको कुल लम्बाइ ३०७ मिटर र चौडाइ ५ मिटर रहेको छ।

वडाध्यक्ष ढकालले बारम्बार संघीय सरकारसँग माग गरे पनि सुनुवाइ नभएको गुनासो गर्दै प्रधानमन्त्री ओलीले संसदमै पुल बनाउने प्रतिवद्धता जनाए पनि हालसम्म कुनै पहल नभएको बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय